बैतडीमा मंगलबार एक बृद्धाकाे बीभत्स हत्या भएको छ। जिल्लाकाे सुर्नया गाउँपालिका–३ बिजुल गाउँकि ५६ वर्षीया हरिना बिष्टकाे हत्या भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिनुभयो ।
मंगलबार बेलुका ५ बजेतिर घरमा काेहि नभएकाे माैका साेही ठाउँका २९ वर्षीय तेज बहादुर चन्दले हरिनाकाे हत्या गरेका हुन् । फलामकाे रड प्रयाेग गरेर तेजले हरिनाकाे हत्या गरेका बताइएको छ।
यस्तै तेजले गाेठमा रहेका २ बाख्रा पनि मारेका प्रहरीले जनाएको छ। घटनापश्चात् बैतडीका प्रहरी प्रमुख,प्रहरी नायव उपरीक्षक दीपक गिरी नेतृत्वको टाेली घटनास्थलतर्फ गएको छ।
हत्यामा संलग्न रहेका तेजलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।