बिडिसिए कप : दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश

बैतडीमा जारी २० औं संस्करणको बिडिसिए कप जिल्लास्तरीय एकदिवसीय क्रिकेट प्रतियोगितामा दशरथचन्द एकेडेमी फाइनलमा प्रवेश गरेको छ। आइतबार सम्पन्न सेमिफाइनल खेलमा एनआरवाइसी बठ्ठालाई १६ रनले स्तब्ध पार्दै एकेडेमी फाइनलमा पुगेको हो।

जितका लागि पाएको १४७ रनको लक्ष्य पन्छाएको एनआरवाइसी ३४।३ ओभरमा १३० रनमा अलआउट भयो। उसका डम्बर तिरूवाले ३५ र भुपेन्द्र चन्दले २० रनको योगदान गरेपनि टोलीलाई जिताउन असफल रहे।

एकेडेमीका लागि वसन्त खत्रीले एक्लैले ६ र अनुराग चन्दले २ विकेट हात पारे। त्यसअघि दशरथचन्द खेलमैदान,सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेको एकेडेमी ४२ ओभरमा १४६ रनमा समेटियो। जसमा सुदीप टमटाले अर्धशतकीय पारी खेल्दै ५३ रन हिर्काए। एनआरवाइसीका लागि भुपेन्द्र चन्दले ७ र प्रदीप चन्दले २ विकेट लिए। भुपेन्द्र खेलका म्यान अफ द म्याच चुनिएका स्कोरर नरेन्द्र चन्दले जानकारी दिनुभयो ।

प्रतियोगिता अन्तरगत सोमबार दोस्रो सेमिफाइनलमा निङलाशैनी क्रिकेट क्लब र त्रिपुरा क्रिकेट क्लब भिड्नेछन्। बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा गत मंसिर १६ गतेदेखि शुरू भएको प्रतियोगिता पुस ४ गते सम्पन्न हुनेछ।

प्रतियोगिताको विजेताले ५० हजार नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्र र उपविजेताले ३५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोद बहादुर चन्दले बताउनुभयो। प्रधानमन्त्री कप एकदिवसीय छनौटका रूपमा समेत लिइएको प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.