पिएम कप क्रिकेट सुदूरपश्चिम छनौट : बझाङ र डडेल्धुरा भिड्दै

बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटमा आज बझाङ र डडेल्धुरा भिड्दैछन्। दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा डडेल्धुराले टस जितेर ब्याटिङ गर्दैछ।

दुबै टोलीले यसअघि एक एक खेल जितेकाले यो खेल निकै महत्त्वपूर्ण रहेको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको हो।

प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दोस्रो चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।

प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन्। गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन्।

प्लेट च्याम्पियनसिपको विजेता टोलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहराले बताउनुभयो। ईलिट च्याम्पियनसिपको उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपको विजेता टोलीबीच खेल हुनेछ।

खेलाडीहरूको क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपको आयोजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.