बैतडीको मेलौली नगरपालिकामा बुधबार बस्ने भनिएको कार्यपालिका बैठक स्थगित भएको छ। कार्यपालिका सदस्यको गणपुरक संख्या नपुगेपछि कार्यपालिका बैठक स्थगित भएको हो।
बुधबार कार्यपालिका बैठकको बस्ने विषयमा तीन दिन पहिले नै सूचना र जानकारी गराइएएको भएपनि न्युनतम १० जना कार्यपालिका सदस्य समेत उपस्थित नभएपछि बैठक स्थगित गरिएको नगर प्रमुख भिम बहादुर चन्दले जानकारी दिए। मेलौलीमा १९ सदस्यीय कार्यपालिका छ। अर्को बैठकका लागि केहिदिनमा नै सूचना जारी गरिने नगर प्रमुख चन्दले बताए ।
यसरी कार्यपालिकाको बैठक बस्न नसक्दा नगरपालिकामा तत्कालै गर्नुपर्ने काम प्रभावित बन्न पुगेको वडा नं ८ का वडा अध्यक्ष तपेन्द्र सिंह बिष्टले बताए। ‘पञ्जीकरण साखाको विषय, कर्मचारी व्यवस्थापन र राष्ट्रपनि रनिङ शिल्ड लगायतका विषय तत्कालै गर्नुपर्ने छ, तर आजको बैठकले प्रभावित पा¥यो,’ अध्यक्ष बिष्टले भने।
नगर उपप्रमुख पार्वती बोहरा बिष्ट नगरपालिकाकै काम विषेशले धनगढीमा कार्यक्रममा छिन्। ‘नगरपालिकाकै कामले धनगढीमा छु, त्यसैले बैठकमा उपस्थित हुन सकिएन,’ उपप्रमुख बिष्टले भनिन् ।
नगरपालिकामा लामो समयदेखि विवाद रहेको १५ शैयाको अस्पताल निर्माणको विषय कार्यपालिकामा राखिने पूर्ववत जानकारी भएकाले आजको बैठक बस्न नसकेको आशंका छ। वडा नं १ र ७ मा दुवै ठाउँका स्थानीयहरुले जग्गा उपलब्ध गराएपछि अस्पताल निर्माण प्रक्रिया विवादमा छ। यो विषयमा कार्यपालिकामा विषेश महत्वका साथ हेरिने गरिन्छ।
२०७० सालमा नै १५ सैयाको अस्पताल निर्माणका लागि संघीय सरकारबाट बजेट आएको भएपनि जग्गा विवादले अघि बढ्न सकेको छैन। वडा नं १ र ७ का स्थानीयहरुको विवादका कारण सम्पूर्ण मेलौलीबासीलाई स्वास्थ्य सेवा प्राप्तिका लागि समस्या भएको अन्य वडाका जनप्रतिनिधिहरु बताउछन्।