बैतडी । नेपाल पत्रकार महासङ्घ डोटी शाखा सह–सचिव सरिता कठायतले श्री मष्टा गुरुकुल विद्या आश्रमलाई आर्थिक सहयोग गरेकी छन्। पत्रकार कठायतले जन् दिनको अवसरमा शिखर नगरपालिका–६ मा रहेको विद्या आश्रमलाई चार हजार एक सय ५५ रुपैयाँ सहयोग गरेकी हुन्।
विद्या आश्रमलाई भोजनका लागि आर्थिक सहयोग गरेको कठायतले बताइन्। समाजसेवा गर्ने भावना अनुरूप जन्म दिनमा थोरै भए पनि सहयोग पुगोस् भनेर सहयोग गरेको कठायतले बताइन्। उनले पछिल्लो समयमा देखासिखि गरेर तडकभडक तरिकाले भन्दा पनि समाजलाई सहयोग गरी जन्मदिन मनाउन अपिल समेत गरेकी छन् ।
२०७५ सालमा स्थापना भएको विद्या आश्रममा हाल १६ जना छात्रले अध्ययन गर्दै आएका छन्। उनीहरूका लागि खाद्य सामाग्री तथा अन्य खर्च स्थानीयतहरू र विभिन्न व्यक्तिले गर्ने आर्थिक सहयोगबाट चल्दै आएको छ। आर्थिक अभावका कारण आश्रममा एक जना मात्र शिक्षक छन्। एक जना शिक्षक र एक जना कार्यालय सहयोगीले आश्रम सञ्चालन गर्दै आएका छन्।
संस्कार, संस्कृति, धर्म, वेद विद्या जस्ता धार्मिक परम्पराको जगेर्नाका लागि आश्रम सञ्चालन गरिएको सञ्चालक ध्रुवराज फुलाराले बताए।