बैतडीकी रेणु चन्द माओवादीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार

बैतडीकी रेणु चन्दलाई नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्य उम्मेदवार बनाएको छ। आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा माओवादी केन्द्रले जनाएको छ।

उनलाई सुदूरपश्चिमबाट राष्ट्रिय सदस्यमा उम्मेदवार बनाइएको नेकपा माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले बताए।

२०६४ सालमा बैतडी क्षेत्र नं २ बाट संविधान सभा सदस्यमा निर्वाचित भएकी चन्द नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य हुन्। उनी अखिल नेपाल महिला संघ क्रान्तिकारीको सुदूरपश्चिम इञ्चार्ज समेत रहेकी छन्।

सत्तारुढ गठबन्धनसँगको सहमति अनुसार माओवादीले आफ्नो भागमा परेका क्षेत्रबाट उम्मेदवार घोषणा गरेको हो। माओवादीले कोशीमा चम्पादेवी कार्की, बागमतीमा श्रीकृष्ण अधिकारी, गण्डकीमा मनरुपा शर्मा, लुम्बिनीमा झक्कु सुवेदी र कर्णालीमा विष्णु विश्वकर्मालाई उम्मेदवार बनाएको छ।

सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार राष्ट्रियसभामा चुनावबाट चयन हुने १९ मध्ये ६ सिट माओवादीले पाएको छ। ११ माघमा हुने राष्ट्रियसभा निर्वाचनका लागि २३ पुसमा मनोनयन दर्ताको कार्यतालिका छ।

Leave A Reply

Your email address will not be published.