बैतडी । सहिद दिवसको अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानद्धारा बैतडीका तीन जना युवा समाजसेवी सम्मानित भएका छन्। अमर शहीद दशरथचन्दको जन्मघर दशरथचन्द नगरपालिका–५,बस्कोटमा आयोजित कार्यक्रममा बैतडीका युवा समाजसेवी महेशदत्त भट्ट, मोहित भण्डारी र सञ्चारकर्मी लोकेश साउदलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरेको हो।
समाजसेवी युवाहरूलाई दशरथचन्द नगरपालिका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले संयुक्त रूपमा दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गरेर सम्मान गर्नुभएको थियो।
समाजसेवी युवाहरूले कोभिडका बेला सङ्क्रमितको उपचार गर्न अक्सिजनका लागि दश लाख रुपियाँ आर्थिक सहायता जुटाएर ज्यान बचाउन महत्त्वपूर्ण सहयोग गरेकाले सम्मान गरिएको स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताउनुभयो। आज दशरथचन्द स्मृति प्रतिष्ठानले सञ्चारकर्मी साउदलाई आजीवन सदस्यता समेत प्रदान गरेको छ। डेढ दशकदेखि मोफसलको पत्रकारितामा सक्रिय साउद समसामयिक विषयमा कलम चलाउँदै आउनुभएको छ।
सम्मानित हुने अर्का समाजसेवी महेशदत्त भट्ट र मोहित भण्डारीले बैतडी सदरमुकाममा गरिब–विपन्नका लागि निःशुल्क कपडा बैङ्क सञ्चालन गर्दै आउनुभएको छ। स्थानीय रोयल हिल यूथ क्लबका कोषाध्यक्षसमेत रहनुभएका भण्डारीको अगुवाइमा रक्त सञ्चार समूह गठन गरी बैतडी अस्पतालमा भर्ना भएका आकस्मिक बिरामीलाई रक्तदान सञ्चालन गरिएको छ।
यसैबिच दशरथचन्द स्मृति प्रतिष्ठानले सहिद दिवसका अवसरमा बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा र अनुसन्धान प्रमुख अर्चना सिन्हालाई आजीवन सदस्यता प्रदान गरेको छ। सहिद दिवसका अवसरमा दशरथचन्द स्मृति प्रतिष्ठानले सहिदगेट चमखालीबाट प्रभातफेरीको आयोजना गरी मनाएको छ।
आयोजित कार्यक्रममा राजनीति दलका प्रतिनिधि, जिल्लास्थित कार्यालय प्रमुख, सुरक्षाकर्मी र स्थानीय शिक्षक-विद्यार्थीको उल्लेख्य सहभागिता थियो।
