बैतडी-बैतडीको दशरथचन्द नगरपालिका(२ देहीमाण्डौंमा सञ्चालन भएको दुई दिने निशुल्क स्वास्थ्य शिविरमा ६ सय ९१ जनाले सेवा लिएका छन् ।
दशरथचन्द नगरपालिकाको आयोजना, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेको प्राविधिक सहयोग र दशरथचन्द नगरपालिका-२ को कार्यालय देहीमाण्डौंको व्यवस्थापनमा शिविरको आयोजना गरिएको हो । बिहीबार र शुक्रबार आयोजना भएको शिविरमा दशरथचन्द नगरपालिका र आसपासका नागरिकले सेवा लिएका दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भुवनप्रसाद जोशीले बताउनुभयो ।
शिविरमा आएका मध्ये ३५ जना क्यान्सरका शंकास्पद बिरामी फेला परेका छन् । ती मध्ये ८ जनालाई थप उपचारका लागि सुशील कोइराला प्रखर क्यान्सर अस्पातलमा बोलाएको जोशीले बताए । स्थानीय नागरिकहरुलाई क्यान्सर जस्ता जटील रोगहरुको समयमै पहिचान गर्न सहज होस भनेर शिविरको आयोजना गरिएको दशरथचन्द नगरपालिका वडा नं २ का वडा अध्यक्ष सूर्यबहादुर बोहराले बताउनुभयो ।
पछिल्लो समयमा क्यान्सर जस्ता नसर्ने रोगहरुको जोखिम बढ्दै गएको दशरथचन्द नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जोशीले बताउनुभयो। ६सय ९१ जनाको स्वास्थ्य परीक्षण गर्दा ३५ जना क्यान्सरका शंकास्पद बिरामी देखिनु निकै ठूलो चुनौतीको बिषय रहेको उनले बताउनुभयो।