बैतडी-बैतडीको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिउंडेको ह्वाइट बोर्ड फेरिएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं २ ग्वानी घर भइ हाल वैदेशिक रोजगारीको सिलसिलामा भारतको हैदराबादमा रहेका समाजसेवी युवा बिनोद बहादुर विष्टको सहयोगमा नेरा माविको च्यात्तिएको पुरानो बोर्ड फेरिएको हो ।
शुक्रबार सुर्नया गाउँपालिकाको टोलीले वडा नं २ सिउंडे स्थित नेरा माविमा अनुगमन गरेको थियो ।अनुगमन पछि अनुगमन टोलीका एक जना व्यक्तिले सामाजिक सञ्जालमा तस्बिरहरु राखेका थिए ।फेसबुकमा राखिएका ती तस्बिरहरुमा नेरा माविको ह्वाइट बोर्ड च्यात्तिएको देखिएको थियो ।
सो तस्बिर देखेपछि आफुले अध्यन गरेको विद्यालयको ह्वाइटबोर्डको अवस्था देखेर सहयोग गरेको युवा विष्टले बताए । उनले भारतबाट पठाएको पैंसाबाट तीन ओेटा ह्वाइट बोर्ड र एक दर्जन मार्कर खरिद गरेर मंगलबार विद्यालयलाई हस्तान्तरण गरिएका युवा हरिश विष्टले बताए ।सुर्नया गाउँपालिका वडा नं २ का वडा अध्यक्ष गणेश बहादुर विष्टको उपस्थितिमा विद्यालयका सहायक प्रधानाध्यापक मीन बहादुर विष्टलाई ह्वाइट बोर्ड र मार्कर हस्तान्तरण गरिएका हुन ।
मनकारी युवाले गरेको सहयोगले शिक्षण सिकाई क्रियाकलापमा सहज भएको शिक्षकहरुले बताए ।प्रारम्भिक शिक्षा नेरा माविबाट हाशिल गरेका बिनोद सामाजिक कार्यमा सक्रिय छन ।उनले कोरोना कहरका बेला निःशुल्क एम्बुलेन्स सञ्चालन गरेर नागरिकहरुलाई सेवा समेत दिएका थिए । गाउँ समाजको मुहार फेर्ने मनसायले सामाजिक कार्यमा सरिक हुँदै आएका बिनोद दुःख पीडामा परेकालाई सहयोग पनि गर्दै आएका छन ।
विदेशमा पसिना बगाएर स्वदेशको विकासमा सहयोग गर्ने विनोद जस्ता युवाको समाजमा खाँचो रहेको स्थानीय युवा पवन चन्दले बताए । समाजका लागि सोच्ने उनको मनोभाव अनुकरणी रहेको उनको भनाई छ । गाउँपालिकाले पनि विद्यालयका यस्ता समस्या बुझेर समाधानका लागि अनुगमन गरेको वडा अध्यक्ष विष्टले बताए ।
विद्यालयका प्रत्येक कक्षा कोठामा ह्वाइटबोर्डहरु पुराना भैसकेर च्यात्तिएकाले सबै फेरिने उनले बताए । त्यसका लागि पहल थालिएको समेत उनले बताए । केहि दिनमै ह्वाइटबोर्ड खरिद गरेर वितरण गरिने उनको भनाइ छ ।