यस वर्षको यज्ञराज यात्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट रेडियो नेपालकर्मी मुकुन्द भण्डारी सम्मानित हुनुभएको छ। कैलाली जनपुस्तकालयले हरेक वर्ष प्रदान गर्ने प्रतिभा पुरस्कार यस वर्ष भण्डारीलाई प्रदान गरिएको हो।
शनिबार धनगढीमा आयोजित एक समारोहबीच भण्डारीलाई सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. टीएन जोशीले नगद १० हजार र सम्मान पत्रसहित पुरस्कार प्रदान गर्नुभएको हो।
डोटेली भाषा र संस्कृतिमा योगदान पुर्याएको भन्दै भण्डारीलाई सम्मान गरिएको जनपुस्तकालयले जनाएको छ। यो पुरस्कार सुदूरपश्चिमका वरिष्ठ साहित्यकार यज्ञराज यात्रीले स्थापना गर्नुभएको हो।
भण्डारी २४ वर्षदेखि निरन्तर सञ्चार कर्ममा सक्रिय हुनुहुन्छ। उहाँ लगायतले रेडियो नेपालमा डोटेली भाषाको समाचार र कार्यक्रम प्रसारणको सुरुवात गर्नुभएको थियो।