बैतडी : दशरथचन्द राजमार्ग अन्तरगत बैतडीको सुर्नया गाउँपालिका २ सतबाँझमा सोमबार बिहान एक युवक मृत फेला परेका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका १ रिमका ३७ वर्षीय विरसिंह कुँवर मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता ,प्रहरी निरीक्षक नन्दराज जोशी जानकारी दिनुभयो। आइतबार जिल्ला प्रशासन कार्यालयमा नागरिकता प्रमाणपत्र बनाउन गएका कुँवर सोमबार बिहान ६ बजे सतबाँझ बजारमा मृत भेट्टिएका हुन्।
आइतबार अबेर सतबाँझ पुगेका र राति कठ्याइरिएर मृत्युु भएको प्रहरीको अनुमान रहेको छ। यहाँ दुईदिनदेखि वर्षा र आइतबार रातिदेखि हिमपात भएको छ।
मृतक कुँवर मादक पदार्थ सेवन गर्ने गरेका बताइएको छ। कुँवरका श्रीमतीको यसअघि नै मृत्युु भइसकेको र घरमा १ छोरा र १ छोरी रहेका छन्।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।