राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज गरिरहेको काठमाण्डौ केन्द्रित जनप्रदर्शनका कारण केही ठाउँको ट्राफिक अवस्था अस्तव्यस्त भएको छ। राप्रपाका नेता कार्यकर्ताको जुलुस भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली पुगेको छ। भद्रकालीबाट निषेधित क्षेत्र तोड्दै जुलुस सिंहदरबारतर्फ जान थालेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा हानेको छ।
राप्रपाको जुलुका कारण टुँडिखेल वरपर, सिंहदरबार, पुतलीसडक, लाजिम्पाट, माइतघर, थापाथली, त्रिपुरेश्वरलगायत क्षेत्रमा गाडीको लामो लाइन लागेको छ। यी क्षेत्रको जामले काठमाण्डौका अन्य क्षेत्रको ट्राफिक पनि प्रभावित भएको छ।
गएको फागुनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राप्रपाले ४० बुँदे मागपत्र पेस गरेको थियो। गणतन्त्र र धर्मनिरपेक्षता खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने लगायतका माग सम्बोधन गर्न दबाब दिँदै आज राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनका लागि देशका विभिन्न जिल्लाबाट समेत राप्रपाका कार्यकर्ता काठमाण्डौमा आएका छन् ।
राप्रपाले निषेधाज्ञा नै तोड्ने गरी प्रदर्शनको तयारी गरेपछि आज काठमाण्डौमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदर्शनलाई लक्षित गरी नेपाल प्रहरीले चार हजार जनाभन्दा धेरै जनशक्ति परिचालन गरेको छ ।
काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले हिजो बसेको सुरक्षा समितिको संयुक्त बैठकले चार हजार जनाभन्दा धेरै सङ्ख्यामा प्रहरी परिचालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रदर्शनमा अप्रिय घटना हुन नदिन पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा सादा पोसाकमा विशेष प्रहरीको टोली परिचालन गरेको काठमाण्डौ उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।