प्रतिनिधि सभाको बैठक जेठ ६ गते आइतवारसम्मका लागि स्थगित भएको छ।
यसअघि आज बिहान ११ बजेका लागि बोलाइएको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षसहित प्रतिपक्ष दलहरू बेग्लाबेग्लै छलफलमा व्यस्त रहेपछि दिउँसो २ बजेका लागि सारिएको थियो। तर दिउँसो ३ बजेसम्म पनि बैठक बस्न सकेन। बैठक बस्न नसकेपछि सभामुख देवराज घिमिरेको आदेशमा संसद् सचिवालयले सूचना प्रकाशन गरेर आइतवार बिहान ११ बजेसम्मका लागि स्थगित गरेको हो।
सभामुख देवराज घिमिरेले सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग छलफल गर्नुभएको थियो। तर सहमति जुटेन। प्रमुख प्रतिपक्ष दल कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि संलग्न रहेको भन्दै संसदीय छानबिन समिति गठनको माग गर्दै केही दिनदेखि प्रतिनिधि सभाको बैठक अवरोध गर्दै आएको छ। कांग्रेसको आज बसेको संसदीय दल बैठकले संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध जारी राख्ने निर्णय गरेको छ।