बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडायो

बैतडी: हावाहुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको छ। जिल्लाको पाटन नगरपालिका-१ स्थित गणेशपुर सहित ४ गाँउमा खानेपानीको समस्या भएको हो।

शनिबार दिउँसो साढेचार बजेतिर आएको हावाहुरीले पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता उडाएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए। हावाहुरीले पाटन नगरपालिका-१ गेरुवापानीस्थित मूहानमा राखिएका सोलार पाता हावाहुरीले उडाएको हो।

हावाहुरीले खानेपानीका सोलार पाता उडाएसंगै ४ गाउँमा जाने खानेपानी अवरुद्ध भएको छ। यस्तै ३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको खानेपानीका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए।

हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको भट्टराईले बताए। हावाहुरीले सोलारका पाता उडाएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।

पाटन लिफ्ट खानेपानी योजनामार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ। खानेपानी बन्द भएसंगै स्थानीयहरुलाई खानेपानीको जोहो गर्न सकस भएको पाटन नगरपालिका वडा नं १ का सचिव डम्मरदत्त पाण्डेयले बताए।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत गत असारमामात्रै सम्पन्न भएको योजनामा क्षति पुगेपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो।

Leave A Reply

Your email address will not be published.