टी–२० विश्वकप : क्यानडालाई हराउँदै घरेलु टोली अमेरिकाको विजयी शुरुवात

टी-२० विश्वकपको उद्घाटन खेलमा घरेलु टोली अमेरिकाले क्यानडालाई सात विकेटले हराएको छ। क्यानडाले दिएको एक सय ९५ रनको लक्ष्य अमेरिकाले १७ ओभर चार बलमा तीन विकेट गुमाएर भेट्टायो।

अमेरिकाका लागि आरोन जोन्सले सर्वाधिक अविजित ९४ रन बनाए। यस्तै एन्ड्रिज गौसले ६५ रन बनाए। क्यानडाका लागि कालिम साना, डिलोन हेलिगर र निखिल दत्तले समान एक विकेट लिए।

यसअघि डालासको ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ९४ रन बनाएको थियो। क्यानडाका लागि नवनीत धालिवालले सर्वाधिक ६१ रन बनाए। यस्तै निकोलस किर्टनले ५१ र श्रेयस मोव्वाले अविजित ३२ रन बनाए। अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डर्सनले समान एक विकेट लिए।

अमेरिकाले आयोजकका रुपमा पहिलो पटक विश्वकप खेलेको हो। त्यस्तै क्यानडा पनि पहिलो पटक विश्वकपमा पुगेको हो। अमेरिका र वेस्ट इन्डिजले यो विश्वकप संयुक्त रुपमा आयोजना गरेका हुन्। केही खेल अमेरिकामा र धेरैजसो खेल वेस्ट इन्डिजमा हुनेछन् । आजको अर्को खेलमा आयोजक वेस्ट इन्डिज र पपुवा न्यूगिनी ९पीएनजी० नेपाली समयअनुसार बेलुका सवा ८ बजे खेल्नेछन्।

नेपालले दोस्रो पटक विश्वकप क्रिकेट खेल्दैछ। यसअघि सन् २०१४ मा नेपालले बंगलादेशमा भएको टि–२० विश्वकप खेलेको थियो। अहिले १० वर्षपछि विश्वकप खेल्न लागेको हो। नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, श्रीलंका, नेदरल्याण्डस र बंगलादेश रहेका छन्। नेपालले पर्सी मंगलवार नेदरल्याण्डससँग पहिलो खेल खेल्नेछ।

टी–२० विश्वकपको फाइनल खेल जुन २९ तारिख अर्थात् असारको १५ गते हुनेछ। इंग्ल्यान्ड विश्वकप क्रिकेट साविक उपाधि विजेता टोली हो। सन् २०२२ मा अस्ट्रेलियामा भएको विश्वकपमा उसले फाइनलमा पाकिस्तानलाई हराउँदै दोस्रो पटक उपाधि जितेको थियो।

Leave A Reply

Your email address will not be published.