आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ। जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ।
नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा एक विकेट गुमाएर भेट्टायो। उसका डेभिड वार्नरले २० रन बनाए। त्यस्तै ट्रभिस हेडले ३४ र कप्तान मिचेल मार्सले अविजित १८ रन बनाए। नामिबियाका डेभिड विसेले एक विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबिया १७ ओभरमा ७२ रनमा अलआउट भएको थियो। नामिबियाका कप्तान जेरहार्ड एरास्मसले सर्वाधिक ३६ रन बनाए। अस्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए।
समूह ‘बी’ मा रहेको अस्ट्रेलिया तीन खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ। तीन खेलमा पाँच अङ्क रहेको स्कटल्यान्ड दोस्रो र तीन खेलमा दुई अङ्क रहेको नामिबिया तेस्रो स्थानमा छ। दुई खेलमा एक अङ्क रहेको इङ्गल्यान्ड चौथो र ओमान तीन खेलमा अङ्कविहिन हुँदै पाँचौँ स्थानमा छ।
यसअघि समूह ‘डी’ बाट दक्षिण अफ्रिका सुपर आठमा पुगिसकेको छ। आज राति नेपाली समयअनुसार सवा ८ बजे आयोजक अमेरिका र भारत खेल्दैछन्।