बैतडीमा श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु भएको छ। पाटन नगरपालिका–४ चिल्लेपानीका ६५ वर्षीय प्रताप सिंह ऐरीको कुटाइबाट उनकी श्रीमती ६० वर्षीया सुना ऐरीको मृत्यु भएको हो।
मंगलबार दिउँसो ३ बजेको समयमा घरयासी विवाद भएको र सोकीक्रममा श्रीमानको कुटाइबाट गम्भिर घाइते भएकी सुनाको बुधबार उपचारको क्रममा डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
श्रीमानको कुटपिटबाट गम्भिर घाइते भएकी सुनालाई उपचारका लागि मंगलबार जिल्ला अस्पताल बैतडी लगिएको थियो। जिल्ला अस्पताल बैतडीले डडेल्धुरा रेफर गरेको थियो।
उपचारकै क्रममा डडेल्धुरा अस्पतालमा बुधबार अप्रान्ह करिब ५ बजे मृत्यु भएको प्रहरी प्रबक्ता, प्रहरी निरिक्षक खेमबिक्रम केसीले जानकारी दिए।
सुनाको खुट्टा, ढाड र टाउकोमा गम्भिर चोट लागेको थियो। श्रीमतीको हत्या गर्ने श्रीमान ऐरी प्रहरी नियन्त्रणमा रहेका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।