स्थापना दिवसमा आफ्नो एफएमद्धारा शैक्षिक र खेलकुद सामाग्री वितरण

डडेल्धुरा : जिल्लाको पहिलो एफएम रेडियो आफ्नो एफएमले स्थापना दिवसको अवसर पारी विद्यार्थीहरुलाई शैक्षिक र खेलकुद सामाग्री वितरण गरेको छ। मानव विकास तथा सामुदायिक सेवाद्धारा संचालित डडेल्धुराको पहिलो सामुदायिक रेडियो आफनो एफएम १०४.८ मेघाहर्जले १७ औँ स्थापना दिवसको अवसरमा अमरगढी नगरपालिका ६ मा रहेका दुई वटा विद्यालयका विद्यार्थीहरुलाई कापि, सिसाकलम, भलिबल, फुटबल र स्कीपिंग डोरी वितरण गरेको छ।

वडा नं ५ दुमडाको गणेशमान स्मृति प्रावि र छचोडाको शम्भुनाथ आविका १५६ जना बिद्यार्थीलाइ शैक्षिक र खेलकुद सामाग्री उपलब्ध गराएको एफएमका स्टेशन म्यानेजर सागर ताम्राकारले जानकारी दिए। एक जना विद्यार्थीलाई एक एक दर्जन कापि,पेन्सिल बितरण गरेको उनले बताए।

बिहिबार विद्यालयमै पुगेर आफ्नो एफएमको टिमले विद्यार्थीहरुलाई सामाग्री वितरण गरेको हो। २०६५ जेठ ३२ गते जिल्ला सदरमुकाम अमरगढी नगरपालिका ५ खलंगाबाट आफ्नो एफएमले प्रशारण सुरुवात गरेको थियो। जिल्लामा कुनै पनि एफएम रेडियो नहुदा तत्कालिन अवस्थामा जनतालाई सुसुचित गर्न आफ्नो एफएमले महत्वपूर्ण भूमिका खेलेको आफ्नो एफएमका संयोजक विजय कुमार मानन्धरले बताए।

खास गरि स्वास्थ्य सम्बन्धि जानकारी गराउने उद्देश्यले रेडियोको प्रशारण थालिएको उनले बताए। रेडियो कार्यक्रम सुनेर डडेल्धुराक स्थानीय व्यवसायीक कृषि गर्न थालेको उनले सुनाए। रेडियो कार्यक्रमले समुदायमा परिवर्तन ल्याएको उनको भनाई थियो। आफ्नो एफएमले स्थापना दिवसका अवसरमा सामाजिक क्षेत्रमा योगदान पुगाउने काम गर्दै आएको उनले जानकारी दिए। यस भन्दा अघि आफ्नो एफएमले अमरगढी नगरपालिका ७ पोखरामा रहेको वेथस्दा बालगृहमा रहेका अनाथ बालबालिकाहरु लाई शैक्षिक सामाग्री, खाद्यान्न उपलब्ध गरएको थियो भने जिल्ला कारागार डडेल्धुरामा कैद भुक्तान गरिरहेकाहरु लाई खाट, विभिन्न पुस्तक, सोलार रेडियोसमेत उपलब्ध गराएको थियो।

कार्यक्रमका प्रमुख अथिती वडा नं। ६ का वडा अध्यक्ष केबि ताम्राकारले आफ्नो एफएमले समाज रुपान्तरणका लागि महत्वपूर्ण कदम चालेको बताए। दुर दराजमा रहेका बिभिन्न समस्याका कारण विद्यालय आउन नसकेका तथा खेलकुद क्षेत्रमा पछि परेकाहरुलाइ आवश्यक सामाग्री दिएर एफएमले सरहानिय कार्य गरेको उनले बताए। साथै विद्यार्थीहरुको उज्ज्वल भविष्यको कामना गर्दै एफएम परिवारलाई धन्यवाद दिए।

हाल आफ्नो एफएम डडेल्धुरासंगै ओखलढुंगा, रुकुम, चितवन र जनकपुर गरि देशभर पाँच स्थानबाट प्रसारण भइरहेको छ। अब दुई वटा प्रदेशमा रेडियो स्थापना गरेर नेपालका सात वटै प्रदेशबाट समाज रुपान्तरणकालागि संचार अभियान संचालन गर्ने योजना रहेको रेडियोका संयोजक मानन्धरले बताए।

 

Leave A Reply

Your email address will not be published.