बैतडी : तीनदिन अगाडी महाकाली नदीमा बगेर बेपत्ता भएकी बैतडीकी एक बालिका अझै भेटिएकी छैनन्। जिल्लाको शिवनाथ गाउँपालिका १ स्वालाकी १२ वर्षीया अस्मिता चाँड असार ८ गते शनिबार बिहान महाकाली नदीमा बेपत्ता भएकी थिएन्।
नुहाउने क्रममा बगेर बेपत्ता भएकी अस्मिता हालसम्म फेला पर्न नसेकेकी बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिनुभयो। बेपत्ता बालिका फेला पर्न नसेकेको र अवस्था अज्ञात रहेको छ।
अस्मिताको खोजीका लागि नेपाल प्रहरी,सशस्त्र प्रहरी परिचालन गरिएको प्रवक्ता पाण्डेले बताउनुभयो। उहाँले भन्नुभयो,“बेपत्ता बालिकाको खोजीका लागि महाकाली नदी किनार क्षेत्रमा नेपाल प्रहरी,सशस्त्र प्रहरीका साथै स्थानीय बासिन्दा परिचालित छन्,अहिलेसम्म भेट्टिएकी छैनन्,बालिकाको अवस्था अज्ञात छ।”
महाकालीमा बेपत्ता बालिका खोजीका लागि भारतीय प्रहरीलाई पनि आग्रह गरिएको छ। महाकालीले बगाएर पारी पनि लगेको हुनसक्ने भन्दै भारतीय प्रहरीलाई खोजीका लागि सहयोग मागिएको हो।
अस्मितासंगै महाकालीमा नुहाउन गएकी शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँड भने मृत फेला परेकी छन्। रजनीको शनिबारनै बगेको केहीबेरपछि नेपाल प्रहरी,सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले मृत उद्धार गरेको थियो।