बैतडी : मेलौली नगरपालिकाको बन्द रहेका सेवा सुचारु गर्न कांग्रेसले आग्रह गरेको छ। शनिबार नेपाली कांग्रेस मेलौली नगर कार्य समितिले एक बिज्ञप्ती जारी गर्दै सेवा सुचारु गर्न आग्रह गरेको छ।
बिहीबार नगरपालिका कर्मचारी र जनप्रतिनिधि बिच विबाद/हातपातको घटनालाई लिएर कर्मचारीहरुले ठप्प पारेका सेवाहरुका बारेमा नेपाली कांग्रेस मेलौली नगर कार्य समितिको गम्भीर ध्यानाकर्षण भएको बिज्ञप्ती मार्फत जनाईएको छ।
असार मसान्तका बेला जनताका कामकाज प्रभावित भएकाले नगरपालिकामा हुन गएको अप्रिय घटनाको सत्यतथ्य छनविन गर्न समेत आग्रह गरेको छ। घटनाका दोशिलाई कार्वाही गरि नगरपालिकाको कामकाज नियमित रुपमा सञ्चालन गरिदिन आग्रह गरिएको नेपाली कांग्रेस मेलौली नगर कार्य समितिका सभापति प्रमानन्द भट्टले बताउनुभयो।
बिहीबार मेलौली नगरपालिका–०९ का वडाध्यक्ष लोकराज भट्ट र जिन्सी शाखाका कर्मचारी चक्रमणी जोशि बिच प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दको कार्यकक्षमा विवाद भएको थियो। वडाले कार्यालय सञ्चालन तथा मसलन्द खर्च भनेर छुट्याएको ५० हजार रकम भुक्तानीका लागि बिलसहित वडाध्यक्ष भट्टले कार्यालय प्रमुख समक्ष पेश गर्नुभएको थियो।
तर उक्त रकम जिन्सी शाखाले वडा कार्यालयको सिफारिस बिनै खर्च भईसकेको कुरा गरेपछि प्रमुख प्रशासकीय अधिकृत चन्दको कार्यकक्षमा बोलाएर छलफल गर्दा दुबै पक्षबीच सानोतिनो बिवाद भएको वडाध्यक्ष भट्टको भनाई रहेको छ। जिन्सी शाखा प्रमुख जोशीले भने वडाले मसलन्द तथा कार्यालय सामग्री शिर्षकको बजेट खर्च नभएको र केहि समान खरिद गरि वडामा पठाईसकेको भन्ने कुरा गर्ने बेला आफुमाथी हातपात भएको दावि गरेका छन।
बिहीबार कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै वडाध्यक्ष भट्टले कार्यालय प्रमुखकै कार्यकक्षमा घाँटि अठ्याँई कुटपिट गरेको आरोप लगाएका छन। कार्यालय कामकाजको शिलशिलामा कार्यालय प्रमुखसंग छलफल गरिरहेको बेला कुटपिट भएको जनाईएको छ।
कर्मचारीहरुले घटनाको सत्यतथ्य छानबिन गरि दोषिलाई आवश्यक कार्वाहीको माग गरेका छन। कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गर्दै अत्यावश्यक बाहेकका सेवा बन्द गरेका छन।
