नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीको बैठक बोलाएको छ। बैठक केहीबेरमा प्रधानमन्त्रीको निवास बालुवाटारमा बस्दैछ। दुई ठूला दल नेपाली काँग्रेस र एमालेबीच गएराति नयाँ सरकार गठनका लागि सहमति भएसँगै पछिल्लो घटनाक्रमबारे छलफल गर्न माओवादीको पदाधिकारी बैठक बस्न लागेको हो।
यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट मन्त्री बनेकाहरुले आजै राजीनामा दिने तयारी गरेका छन्। राजीनामा बुझाएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु हुने नेताहरुको भनाइ छ ।
विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न एमालेको सचिवालय बैठक आज दिउँसो बस्दैछ । आज दिउँसो ३ बजे ललितपुर, च्यासलमा रहेको पार्टी केन्द्रीय कार्यालयमा बस्ने सचिवालय बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमका बारे छलफल हुने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।