देशभर ११ वटा सडकखण्ड अवरुद्ध

रातभर परेको झरीले देशका विभिन्न ठाउँका सडक अवरुद्ध भएका छन्। देशभर ११ वटा सडकखण्ड अवरुद्ध बनेका सडक विभागले जनाएको छ। काठमाण्डौ जोड्ने विपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर–२ कमिरेफाँटमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस्तै मध्य पहाडी राजमार्गअन्तर्गत सिन्धुलीकै गोलन्जोर गाउँपालिका वडा नम्बर– ६ अकबरे भिरमा लेदोसहितको पहिरो खस्दा सडक अवरुद्ध भएको छ। अहिले सडकमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

यस्तै काठमाण्डौ–हेटौँडा जोड्ने कान्ति लोकपथअन्तर्गत ललितपुरको बागमती गाउँपालिका वडा नम्बर–३ पाङ्दुर गैरीमा पहिरो जाँदा सडक अवरुद्ध छ। यस्तै इन्द्रसरोवर गाउँपालिकाको पाटेमा खसेको पहिरो पन्छ्याउने काम भइरहेको छ। यो सडकअन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर–८ प्रतापडाँडामा गएराति एक बजे खसेको पहिरो हटाइएको छ ।

यस्तै कर्णाली राजमार्गको कालिकोटमा लेदोसहितको पहिरो खसेपछि गाडीको आवतजावत बन्द भएको छ। खाँडाचक्र नगरपालिका–२ को सेरिघाट र शुभकालिका गाउँपालिका–१ को गगनेखोलामा पहिरोले सडक अवरुद्ध छ।

यस्तै सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङमा पनि पहिरो खसेपछि सडक अवरुद्ध भएको ट्राफिक प्रहरीले जनाएको छ। पहिरोले अवरुद्ध बनेको कालीगण्डकी करिडोर सडकअन्र्तगत गुल्मीको रिडी–पुर्तिघाट सडक पनि अझै खुल्न सकेको छैन।

कालीगण्डकी करिडोरकै म्याग्दीमा पनि पहिरो गएको छ । भालुवाङ–लिवाङ–रोल्पा माडिचौर दारबोट जोड्ने सडक पनि पहिरोले क्षति पु¥याएको छ। कोशी राजमार्गअन्तर्गत रानी–विराटनगर–इटहरी धरान, हिले र लघुवाघाट–खाँदबारी–किमाथाङ्का सडक पनि पहिरोले अवरुद्ध नै छ ।

Leave A Reply

Your email address will not be published.