बैतडी : पहिराका कारण अवरुद्ध भएको खोडपे–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग सुचारु भएको छ। अविरल वर्षापछि आज बिहान जिल्लाको पाटन नगरपालिका ८ साणीघाटीमा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थियो।
सडकमा खसेको पहिरो डोजरको सहयताले पन्छाएपछि राजमार्ग सुचारु भएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो। बिहान ७ बजे बन्द भएको राजमार्ग मध्यान्ह १२ बजेबाट पूर्ण रुपमा सञ्चालनमा आएको छ।
अवरुद्ध राजमार्गमा सञ्चालनमा आएसंगै सवारीसाधन सञ्चालनमा आएका र बीचबाटोमै अलपत्र परेका यात्रुहरु पनि आ आफ्नो गन्तब्यतर्फ लागेका छन्। जयपृथ्वी राजमार्ग वर्षातको समय बेलाबेला अवरुद्ध हुने गरेको छ। यसअघि असार २२ गते बेलुका सिगास गाउँपालिका ९ को आलुगैरामा पहिरो खस्दा राजमार्ग अवरुद्ध बनेको थिय।
यसैबीच पहिराकै कारण आज बिहानैदेखि अवरुद्ध बनेको देहिमाडौं–गिरेगडा सडक अझै सुचारु हुन सकेको छैन्। उक्त सडकखण्डको सेडामा पहिरो खस्दा यातायात सेवा बन्द रहेको प्रहरीले जनाएको छ।
अवरुद्ध सडक खुलाउन प्रयास भइरहेको भएपनि निरन्तरको वर्षाका कारण समस्या भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। बिहीबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ।
लगातार वर्षा भइरहेको सावधानी अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।