बैतडी कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या

बैतडी : कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा समस्या भएको छ। कूल २५ जनाको क्षमता रहेको कारागारमा हाल ७६ जना कैदीबन्दी रहेका छन्। कारागारमा ६३ जना कैदी र १३ जना थुनुवा रहेका छन।

चार दशक अघि बनेको कारागार भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएको र त्यसमाथि क्षमताभन्दा बढी कैदीबन्दी राख्नुपर्ने कारणले सुरक्षा र व्यवस्थापन चुनौती थपिएको कारागारका जेलर धारा भण्डारीले बताउनुभयो। टिनको छाना भएको भवनमा वर्षातको पानी चुहिन थालेपछि कैदीबन्दीलाई समस्या भएको छ । उहाँले भन्नुभयो,“ टिनको छाना खिया लागेर पानी चुहिएर ओछ्यान भिज्ने र खाना पकाउन वर्षायाममा कैदीबन्दीलाई निकै समस्या हुने गरेको छ। ”

क्षमताभन्दा तेब्बर कैदीबन्दी हुँदा सुरक्षा र व्यवस्थापनमा पनि चुनौती थपिएको । उहाँले भन्नुभयो,“ व्यवस्थापनमा चुनौती छ,ठाउँ अभावमा एउटै बेडमा दुई,तीन जना कैदीबन्दी सुत्ने गरेका छन्,। बेड माथि बेड जोडेर बसेका छन्। पानी पर्दा समस्या हुने गरेको छ। तेब्बर कैदीबन्दी हुँदा सरुवा रोगको जोखिम पनि बढेको छ। ”

एकातिर भवनमा कोठाको अभाव छ भने अर्कोतिर कैदीबन्दी बढ्दै जाँदा बसोबासको व्यवस्था मिलाउन गाह्रो भइरहेको जनाइएको छ। कैदीबन्दीलाई शौचालय प्रयोग, सरसफाईको लागि समेत समस्या हुने गरेको छ।

जीर्ण भवन रहेको र कोठा पनि कम रहेकाले निकै समस्या झेल्नुपरेको छ। जेलर आवास गृह,सुरक्षा व्यारेक पनि नभएको भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो,“जेलरले २४ सैं घण्टा बस्नुपर्ने भएपनि आवास गृह छैन्, छुट्टै भेटघाट कक्ष छैन,सुरक्षा व्यारेक बनेको छैन्। यसले सुरक्षा चुनौती थपिएको छ।”

कारागारमा स्वास्थ्यकर्मी समेत नभएकोले कैदीबन्दी सामान्य बिरामी हँुँदा समेत अस्पताल लैजानुपर्ने बाध्यता रहेको जेलर भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो,“ स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दी सामान्य बिरामी हुँदा समेत जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ। जिल्लामा उपचार सम्भव नभएर धनगढी,काठमाडौं रिफर गछौं । स्वास्थ्यकर्मी नभएकोबारे जानकारी गराएर माग गरेका छौं। ”

कुनै कैदीबन्दीका आमाबुवा बितेर किरिया गर्नुपरे पनि छुट्टै व्यवस्था समेत नभएको कारागार कार्यालयले जनाएको छ। बिजुली र सिसिटिभी बेलाबेला बिग्रिरहने र त्यसको मर्मतका लागि बजेट नहुँदा समस्या हुने गरेको भण्डारीले बताउनुभयो। उहाँले भन्नुभयो,“ वर्षातको समयमा बेलाबेला बिजुली सर्ट भएर आगलागीको जोखिम छ,सिसिटिभी पनि बिग्रने गरेको छ।”

अनुगमन तथा निरीक्षणका लागि सरोकारवाला निकाय आउने र हेरेर जाने भएपनि समस्या भने जस्ताको त्यस्तै रहेको छ। दशकौं पुरानो जीर्ण कारागार भवन पुर्ननिर्माण नहुँदा यहाँ सुरक्षा चुनौती पनि थपिएको छ। वि स २०४० सालमा निर्माण गरिएको कारागार भवन पुनःनिर्माण नहुँदा जीर्ण बनेको हो।

नयाँ भवन निर्माणका लागि कारागार व्यवस्थापन विभागलाई इस्टमेटसहित पठाएको भएपनि कहिले बन्ने भन्ने टुंगो छैन।

Leave A Reply

Your email address will not be published.