बैतडी: पञ्चेश्वर गाउँपालिका भित्रका बर्थिङ सेन्टरहरु बन्द गरिएका छन्। आवश्यक जनशक्ति र उपकरण व्यवस्थापनका लागि बजेटको अभावका कारण गाउँपालिकाले स्वास्थ्यचौकी बाहिर सञ्चालनमा रहेका चार ओटा बर्थिङ सेन्टरहरु बन्द गरेको।
बजेटको अभाव भएको भन्दै बर्थिङ सेन्टरहरु बन्द गरिएका पञ्चेश्वर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसागर शाहले बताउनुभयो। स्वास्थ्य क्षेत्रको बजेटमा कटौती भएकाले बर्थिङ सेन्टरहरु सञ्चालन गर्न सकिने अवस्था नरहेको उहाँले बताउनुभयो।
स्वास्थ्य क्षेत्रको बजेट ३३ लाखबाट घटेर २० लाखमा झरेको छ। ६ ओटा स्वास्थ्यचौकी बाहेक चार ठाउँमा थप बर्थिङ सेन्टरहरु सञ्चालनमा रहेका थिए । सबै बर्थिङ सेन्टरको बन्द गरिएको हो।
स्वास्थ्यचौकी बाहिरका बर्थिङ सेन्टरमा कम्तीमा एक ठाउँमा दुई जना अनमी र एक जना स्वीपर राख्नुपर्ने तर बजेटको अभाव हुँदा समस्या भएको शाहको भनाइ छ। पञ्चेश्वरका सबै ठाउँमा सडकको पहुँच पुगिसकेकाले समस्यामा परेका आमाहरुलाई एम्बुलेन्समार्फत नजिकको स्वास्थ्य संस्थामा ल्याइने शाहले दाबी गरे।
गाउँपालिकाको स्वास्थ्य शाखाले बजेटको अभाव भएको भन्दै पत्र काटेर बर्थिङ सेन्टर बन्द गर्न भनेको छ। पञ्चेश्वरको आम्चोरा, रोडीदेवल र वडा नं १ मा रहेका चारओटा बर्थिङ सेन्टरहरु बन्द गरिएका हुन्।
गाउँपालिकाले बर्थिङ सेन्टर बन्द गर्ने निर्णय गरेपछि स्थानीयबासिन्दाहरु भने आक्रोशित भएका छन्। स्वास्थ्य जस्तो संवदेनशील क्षेत्रमा पालिकाले खेलवाड गरेको स्थानीयहरुको आक्रोश रही आएको छ। स्वास्थ्यचौकीबाट टाढा रहेका सेवाग्राहीहरुलाई समस्या हुने बताइएको छ छ ।
आवश्यक जनशक्ति व्यवस्थापन गरी सेवालाई प्रभावकारी बनाउनुका साटो पालिकाले दुर्गममा सञ्चालनमा रहेका बर्थिङ सेन्टरहरु बन्द गर्दा गर्भवति महिलाहरुलाई झन् समस्या हुने वडा नम्बर १ को पञ्चेश्वर स्वास्थ्य चौकीका प्रमुख सुरेश सार्कीले बताउनुभयो ।
संस्थागत सुत्केरी महिलाहरुको संख्या घट्ने शिशु तथा मातृ मृत्युदर बढ्ने उहाँले जानकारी दिनुभयो। वडा नम्बर १ भित्र रहेका सल्ला बर्थिङ सेन्टर र सेरी बर्थि सेन्टर गरीने उहाँको भनाई छ। चालु आर्थिक वर्षमा सल्ला बर्थिङ सेन्टरमा १७ र सेरी बर्थि सेन्टरमा १८ जना महिलाले सेवा लिएका छन्।
स्वास्थ्य संस्थामा कार्यरत नर्सिङ कर्मचारीलाई परिचालन गरी दुवै बर्थिङ सेन्टर सञ्चालनमा रहने स्वास्थ्य चौकी प्रमुम सार्कीको भनाई छ। यता गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले सबै वडामा सडकको पहुँच पुगिसकेकाले बर्थिङ सेन्टर बन्द हुँदा समस्या नहुने बताउनुभयो।
उहाँले गाउँपालिकाभित्र रहेका स्वास्थ्यचौकीमा गुणस्तरीय सेवा दिने वातावरण बनाइने बताउनुभयो।