डेंगु फैलाउने लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान

बैतडी-बैतडीमा डेंगु रोग फैलाउने लामखुट्टेको लार्भाको खोजी र नष्ट गर्ने अभियान थालिएको छ । डेंगु नियन्त्रण र रोग रोकथाम गर्ने उद्देश्यले स्वास्थ्य कार्यालय बैतडीका प्रतिनिधि,स्थानीय तहका स्वास्थ्य शाखाका प्रतिनिधि, प्रहरी र स्थानीयहरुसँग समन्वयमा लामखुट्टेको लार्भा खोजी र नष्ट गर्ने अभियान थालिएको स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

लामखुट्टेले अण्डा पार्न सक्ने सम्भावित स्थानहरूको खोजी गरी लामखुट्टेको बासस्थान सरसफाइ र लार्भा नष्ट गर्ने अभियान सुरु गरिएको भट्टले बताउनुभयो ।

डेंगु रोग रोकथाम तथा नियन्त्रणका लागि जिल्लाको गोठलापानी, शाहीलेक, पाटन, खोड्पे लगायतका बजारमा लार्भाको खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय बैतडीमा कार्यरत ल्याब टेक्निसियन धर्मानन्द बडुले बताउनुभयो ।

डेंगु रोगको जोखिम कम गर्नको लागि स्थानीय तहको स्वास्थ्य शाखाबाट पनि अभियान थालिएको छ ।साँझ बिहानको समयमा सक्रिय हुने ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण फैलिने गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।

डेंगु संक्रमण भएमा ज्वरो आउने, टाउको र शरीर दुख्ने, शरीरमा बिमिरा देखिने, आँखाको सेतो भाग रातो देखिने, आँखाको गेडी दुख्ने, जोर्नी दुख्ने, वाकवाकी लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखापर्छन ।

Leave A Reply

Your email address will not be published.