बैतडीमा पहिरोले दुई घर भत्किए, अन्य दुई घर जोखीममा

बैतडीमा पहिरोले दुई घर भत्किएका छन्। जिल्लाको डिलासैनी गाउँपालिका-३ दौंखोलाका स्थानीय अम्मर बोहराका दुई घर भत्किएका हुन्।

घरमुनिबाट पहिरो खसेपछि चार कोठे स्लेटले छाएको कच्ची घर र २ कोठे पक्की घर आइतबार बिहान भत्किएको वडाअध्यक्ष रघुबिर बोहराले जानकारी दिए। पहिरोले घर भत्काएपछि परिवारका सदस्यसहित आफन्तको घरमा सुरक्षीत स्थानमा सारीएको वडाअध्यक्ष बोहराले बताए।

पहिरोका कारण अन्य दुई घरहरु समेत जोखीममा परेका छन्। स्थानीय नरेश बोहरा र बहादुर बोहराको घर पनि उच्च जोखिममा रहेका हुन्। घर भत्किँदा घरभित्र रहेका सबै अन्नपात र अन्य सामग्री नष्ट भएका छन्। पहिरोले घर भत्किएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ।

डिलाशैनी गाउँपालिकाका विभिन्न क्षेत्रमा प्राकृतिक प्रकोपबाट विपद्का घटना भएकोमा गाउँपालिकाले दुःख व्यक्त गरेको छ। स्थानीय सरकारबाट गर्न सकिने राहत तथा पुनस्र्थापनाका काममा कुनै कसर बाँकी नराख्ने गाउँपालिका अध्यक्ष सन्तोष जोशीले बताए। बर्षातको समयमा विपद्का घटना हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पालिका अध्यक्ष जोशीले सबैमा आग्रह गरेका छन्।

Leave A Reply

Your email address will not be published.