बैतडी: मेलौलीमा दिउँसै चितुवा देखिन थालेको छ। मेलौली नगरपालिका अन्तर्गतका वडाहरु २, ३, ७, ८ र ९ का विभिन्न क्षेत्रमा चितुवा देखिएपछि स्थानीयबासिन्दाहरु त्रसित बनेका छन्।
गाउँबस्ती नजिकै चितुवा देखिन थालेपछि स्थानीयहरु त्रसित बनेका छन्। गएको १५ दिन यतादेखि मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेको छ।
स्यालतडी क्षेत्रमा चितुवा देखिन थालेपछि मेलौली नगरपापालिका वडा नं २ को कार्यालयले एक सूचना निकालेर सतर्कता अपनाउन आग्रह गरेको छ। वडाले जारी गरेको सूचनामा मेलौली नगरपालिका वडा नं २ र ३ को सीमाना स्यालतडीमा चितुवा देखिएकाले उक्त क्षेत्रमा जाँदा सतर्कता अपनाउन भनेको छ।
घाँस-दाउरा जाँदा र अन्य कामका लागि बाटोमा हिड्दा समेत ख्याल गरेर हिड्न वडा कार्यालयले सबैलाई आग्रह गरेको मेलौली नगरपालिका वडा नं २ का वडा अध्यक्ष कृष्णदत्त भट्टले बताउनुभयो। यस्तै डिभिजन वन कार्यालय अन्तर्गतको मेलौली कुलाउ सवडिभिजन वन कार्यालयले पनि एक सूचना जारी गर्दै मेलौली नगरपालिका वडा नं २, ३, ७,८ र ९का खोला किनार क्षेत्रहरुमा चितुवा सक्रिय रहेको जनाएको छ।
यी वडाहरुका सुर्नया नदी किनारका बासिन्दाहरुलाई चितुवाको आक्रमणबाट बच्नका लागि सूचनामा आग्रह गरिएको छ। यी क्षेत्रहरु पहिलादेखि नै चितुवा प्रभावित क्षेत्र भएकाले रातिको समयमा बाहिर ननिस्कन र हिँडडुल नगर्न आग्रह गरिएको छ।
जिल्लाको तल्लोसोराड क्षेत्रमा यो भन्दा पहिला पनि चितुवाले आतंक मच्चाएका कारण स्थानीयहरुमा त्रास पैदा भएको हो। २०६८ साल यता चितुवाको आक्रमणबाट मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका विभिन्न स्थानमा २५ जनाले ज्यान गुमाइसकेका छन्। यि क्षेत्रहरुमा चितुवाको आक्रमणबाट १३ जना घाइते भएका छन्।
यही अवधीमा १२ चितुवा समेत मरेका छन्। ७ चितुवा पासोमा परेर मरेका छन् भने ३ ओटा प्राकृतिक कारणले मरेका छन्। २ ओटा चितुवा चोटपटक लागेर मरेका डिभिजन वन कार्यालयका सूचना अधिकारी मदनप्रसाद जोशीले बताउनुभयो।