धौलीगंगा बाँध शनिवार फेरि खोल्दै भारत ,सतर्क रहन आग्रह

बैतडी-भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ।

एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले परियोजनाको बाँध भदौ १ गते शनिवार विहान ८ बजेदेखि भदौ २ गते बेलुकासम्म खोलिने जनाएको छ।

बाँध खोलेका वेला र त्यसपश्चात केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकोले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो । एनएचपीसी लिमिटेड, धौलीगंगा पावर स्टेशन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्रअनुसार वर्षातका कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि हुँदै गएको र सरसफाइका लागि बाँधको ढोका खोल्न लागिएको हो ।

बाँध खोलेको वेला नदी तटीय क्षेत्रका बासीन्दालाई सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ। दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्न सक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइ राख्न स्थानीय प्रशासनले अनुरोध गरेको हो।

Leave A Reply

Your email address will not be published.