बैतडी–बैतडीको पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्टमा यातायात व्यवसायीले मर्मत गरेका छन् । पाटन बजारदेखि लोर्खासम्म उक्त सडकखण्डको ठाउँठाउँमा खाल्डाखुल्डीका कारण गाडी चलाउन नमिल्ने भएपछि मेलौली यातायात व्यवसायी विजय सिंह नायकले आफ्नै लगानी सडक मर्मत गरेका हुन् ।

जेसीबी लगाएर सडकका खाल्डाखुल्डी पुरेको यातायात व्यवसायी नायकले बताउनुभयो । सडकको दुरावस्थाका बिषयमा सम्बन्धित निकायको पटक–पटक ध्यानाकर्षण गराउँदा समेत मर्मत नभएपछि आँफैले मर्मत गरेको उनले बताउनुभयो ।

पाटन –पञ्चेश्वर सडकको पाटन बजारदेखि लोर्खासम्म स्तरोन्नती नहुँदा दुर्घटनाको जोखिम समेत बढेको छ । उक्त खण्डमा ठाउँठाउँमा भएका खाल्डाखुल्डीले जुनसुकै बेला पनि दुर्घटना हुने देखिएपछि केही व्यवसायीहरु राम दत्त भट्ट,खेम राज भट्ट र आफूले मर्मत गरेको नायकले बताउनुभयो ।

पाटन–पञ्चेश्वर सडकको जिरो पोइन्टदेखि लोर्खासम्म स्तरोन्नतीका लागि पटक–पटक माग गर्दा समेत सरोकारवाला निकायहरुको ध्यान जान सकेको छैन् । गत बर्ष पाटनका स्थानीयहरुले आन्दोलन समेत गरेका थिए । पूर्वाधार विकास कार्यालय मातहत रहेको उक्त खण्डमा मर्मत हुन नसकेको नायकले बताउनुभयो ।
