बैतडी: मिनि ट्रक दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दोगडाकेदार गाउँपालिका २ मकफलकोटमा सुपप्र ०२–००१ क ०७३४ नम्बरको मिनि ट्रक दुर्घटना हुदा सोही ट्रकका साहु सुर्नया गाउँपालिका ६ घर भई हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ बस्दै आएका ३० बर्षीय जगदीश अवस्थीको घटनास्थलमै मृत्यु भएको हो।
यसैगरी सो दुर्घटनामा परी सुर्नया गाउँपालिका ६ मूलखटाली घर भएका चालक ३८ बर्षीय अम्मर अवस्थी र कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ४ घर भएका राजेन्द्र राना घाइते भएका छन्। सिल्लेगडा–कटौजपानी कच्ची सडकमा बिहिबार साँझ ७ बजेतिर मिटि ट्रक दुर्घटनामा परेको हो।
घाइते मध्ये चालक अवस्थीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ।
ट्रक सडकबाट ५० मिटर तल खसेको बताइएको छ। छड र सिमेन्ट बोकेर जाँदै गरेको ट्रक दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक गिरीले बताए।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।