डडेल्धुरादेखि बैतडीको मेलौली जोड्ने उग्रतारा–मैलौली सडकखण्ड निर्माण सुरु भएको झण्डै चार दशक पुगेको छ। डडेल्धुराको अजयमेरु गाउँपालिकाका सबै वडा जोड्दै बैतडीको दुर्गममा रहेको तल्लो स्वराड पुग्ने सबैभन्दा छोटो दुरीको उक्त सडक लोकेन्द्रबहादुर चन्द प्रधानमन्त्री हुँदा ०४२ सालमा निर्माण सुरु भएको थियो।
सडक निर्माण सुरु भएको चार दशक पुग्नै लाग्दा अहिलेसम्म डडेल्धुरा खण्डमा १८ किलोमिटर मात्रै कालोपत्रे भएको छ। तर सडक कालोपत्रे भए पनि पुल नहुँदा भने निकै सास्ती हुन थालेको छ। उग्रतारा–मैलौली सडकको बसना गाडमा पुल नहुँदा सास्ती भएको हो। डडेल्धुरा–चमडा रुटमा अटो चलाउँदै आएका नवराज भट्टले बसना गाडमा पुल नहुँदा निकै समस्या भएको बताए। ‘बर्सातको समयमा बसना गाडमा पानीको बहाव निकै उच्च हुने गरेको छ,’ उनले भने, ‘सडक कालोपत्रे भए पनि गाडमा पुल नहुँदा आवतजावत गर्न निकै मुस्किल छ। कयौं दिन त सवारीसाधनलाई गाड तार्न नसकेर यात्रुहरु अलपत्र परेका छन्।’
बसना गाडमा पुल निर्माणका लागि गत वर्ष पूर्वाधार विकास कार्यालय डडेल्धुरासंग एक करोड बजेट थियो। कार्यालय प्रमुख नवराज रावलका अनुसार थप बजेटको व्यवस्थापन गरेर बहुवर्षीय ठेक्कामा जाने योजना थियो। ‘स्रोत सहमतिका लागि फाइल अर्थ मन्त्रालयसम्म पुगाएका हौं,’ उनले भने, ‘अर्थले स्रोत सहमति नदिएपछि पुल निर्माणको योजना अगाडि बढ्न नसकेको हो।’
अजयमेरु गाउँपालिका वडा नम्बर २ का अध्यक्ष शिवराज भट्टले चालू आथिक वर्षमा बसना गाडमा पुल निर्माणको योजना अगाडि बढ्ने दाबी गरे। ‘गत वर्ष एक करोड मात्रै बजेट भएकाले प्रदेश सरकारले बहुवर्षीय ठेक्का लगाउन दिएन,’ उनले भने, ‘चालू आर्थिक वर्षको बजेटमा पुल निर्माणको योजना राख्न लगाएका थियौं। तर, उक्त बजेट पास भएन। अब आउने नयाँ बजेटमा बसना गाड पुल निर्माणको योजना अटाउने छ भन्ने आश छ।’
यस्तै सडकखण्ड अन्तर्गत नौलाकोट गाडमा भने पुल बनेको छ। सुर्नाया नदी र अन्य गाडमा भने पुल बन्न सकेको छैन। डडेल्धुराको उग्रतारा मन्दिरदेखि ९६ किलोमिटर लामो दुरीको सडक निर्माण गर्ने कार्य भने भइरहेको छ। डडेल्धुरा खण्डमा अहिलेसम्म उग्रतारा मन्दिरदेखि चमडासम्म सडक कालोपत्रे भइसकेको छ भने बैतडी खण्डमा पनि मेलौलीदेखि सुर्नाया नदीको माथिसम्म कालोपत्रे भएको छ।