बैतडीमा समयमा विद्युत महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालिएको छ। मिटिर रिडिङ गरेको ६० दिनभित्र विद्युत महसुल नबुझाउनेको ग्राहकको बुधबारदेखि लाइन काट्न शुरु गरिएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख जनार्दन पौडेलले बताउनुभयो।
बुधबार समयमा महसुल नबुझाउने २१ ग्राहकको लाइन काटिएको पौडेलले बताउनुभयो। उनीहरुबाट १ लाख २६ हजार ४३ रुपैयाँ महसुल उठाउन बाँकी रहेको उहाँले बताउनुभयो।
बैतडीमा समयमा विद्युत महसुल नबुझाउने ७ हजार २७८ ग्राहकबाट १ करोड ८ हजार ३९२ रुपैयाँ महसुल उठाउन बाँकी रहेको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले जनाएको छ।
विद्युत मिटर रिडिङ गरेको ६० दिनभित्र विद्युत महसुल बुझाइसक्नुपर्ने भएपनि ७ हजार २७८ ग्राहकले समयमा विद्युत महसुल नबुझाएको नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख पौडेलले बताउनुभयो।
समयमा विद्युत महसुल नबुझाउनेको लाइन काट्ने कार्य शुरु भइसकेको र महसुल नबुझाउने सबैको लाइन काटिने जनाइएको छ। नेपाल विद्युत प्राधिकरणको केन्द्रीय नीति अनुसार बुधबारदेखि समयमा महसुल नबुझाउनको लाइन काट्ने कार्य शुरु भएको बताइएको छ।
गत बर्ष समयमा विद्युत महसुल नबुझाउने बैतडीका ६ सय ९२ ग्राहकको लाइन काटेर ५६ लाख ३४ हजार ५८३ रुपैयाँ राजस्व संकलन गरिएको थियो। ९३ ओटा सरकारी कार्यालय, ३ ओटा पार्टी कार्यालय र अन्य ५ सय ९६ ग्राहकको लाइन काटिएको थियो।
लाइन काटिएका मध्ये महसुल बुझाउने ४ सय ९९ ग्राहकको लाइन फेरि जोडिएको छ भने लाइन काटेर पनि महसुल नबुझाउनेहरुको लाइन जोड्न बाँकी रहेको उहाँले बताउनुभयो।बैतडीमा २४ हजार ५६५ घरधुरीमा विद्युतको राष्ट्रिय प्रशारण पुगीसकेको छ। चालु आर्थिक बर्षमा जिल्लाका ८० प्रतिशत घरधुरीमा विद्युतको पहुँच पुर्याउने लक्ष्य रहेको पौडेलले बताउनुभयो।
विद्युत महसुल समयमा नबुझाउँदा ग्राहकले जरीवाना समेत तिर्नुपर्ने भएकाले समयमै विद्युत महसुल बुझाउन विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले आग्रह गरेको छ।