बैतडी: दोगडाकेदार गाउँपालिका ६ सित्तडस्थित खौलाबजार बाढी,पहिरो र कटानको उच्च जोखिममा रहेको छ। सनीगाड र जमाडीगाड मिलन हुने क्षेत्रमा रहेको खौलाबजारको माथिबाट पहिरो खसेर दुई पसल समेत पुरिसकेको छ।
बजार माथिपट्टी रहेको घुकुती बनबाट खसेको पहिराले दुई पसल पुरिएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो। खौलाबजारमा रहेको करनसिंह भण्डारी होटेल र नवराज भण्डारीको पसल पहिराले पुरेको पाण्डेयले बताउनुभयो।
पहिरो खसेसंगै खौलाबजारका थप १० पसल उच्च जोखिममा रहेका स्थानीय व्यापारी अर्जुन भण्डारीले बताउनुभयो। माथिबाट पहिरो तलबाट नदीले कटान गरिररहेको छ। उहाँले भन्नुभयो,” पहिराले दुईजनाको पसल पुरिसकेको छ। पानी पर्ने क्रम नरोकिए अन्य पसल समेत पुर्ने सम्भावना छ।”
दुई पसल पुरिनुका साथै धानबाली, पुलको समान बगायो,पोलिहाउस, ट्रस्ट,तरकारीमा समेत क्षति पुगेको उहाँले बताउनुभयो। पहिरो सफाइका लागि वडा र दोगडाकेदार गाउँपालिकालाई जेसिबी उपलब्ध गराइदिन अनुरोध गरेको भएपनि सुनुवाइ नगरेको भण्डारीको आरोप छ। उहाँले भन्नुभयो,” पहिरो नियन्त्रण हुन सकेन भने सबैको उठिबास हुने देखिन्छ। समयमै सम्बन्धित निकायको ध्यान पुगोस्।”
दोगडाकेदार गाउँपालिका ६ का वडाध्यक्ष गोपालसिंह कार्कीले पनि खौलाबजार क्षेत्र उच्च जोखिममा रहेको बताउनुभयो। उहाँले भन्नुभयो, ” खौलाबजारमा २०१८ सालमा पनि पहिरो गएको थियो,उक्त समय ठुलो धनजनको क्षति भएको हो। अहिले पनि समयमै पहिरो नियन्त्रणको काम हुन सकेन भने ठुलो धनजनको क्षति नहोला भन्न सकिन्न।”
वडाध्यक्ष कार्कीले पहिराले सुकुम्बासी बस्तीमा पनि क्षति पुगेको बताउनुभयो। एकजनाको घर पुरिनुका साथै पाँचजनाको मकैबालीमा क्षति पुगेको छ।
सामान्य राहत वितरणको काम तथा क्षतिपूर्ति पालिकाले गर्ने बताउदै दोगडाकेदार गाउँपालिका अध्यक्ष चक्रबहादुर कार्कीले ठुलो पहिरो नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,”पालिकाको तर्फबाट सामान्य राहत वितरण तथा क्षतिपूर्ति प्रदान गर्छौ,पहिरो नियन्त्रणका लागि प्रदेश र केन्द्र सरकारसँग आग्रह गर्छौ।”
खौलाबजार पहिरोको उच्च जोखिममा रहेको भए बुझेर राहत तथा व्यवस्थापनको काम गरिने बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिनुभयो। उहाँले भन्नुभयो,” क्षतिपूर्ति र पहिरो नियन्त्रणका लागि विपद व्यवस्थापन समितिको बैठक बसेपछि निर्णय गरिनेछ। राहत सामग्री दिनुपर्ने देखियो भने तत्कालै उपलब्ध गराउछौं।”
पहिरो नियन्त्रणका लागि स्थानीय,प्रदेश र केन्द्र सरकारलाई अनुरोध गर्ने उहाँले बताउनुभयो।