बैतडीमा रोजगारीका लागि भारत गएकाहरुको एचआइभी परीक्षण गरिने

बैतडीमा रोजगारीका लागि भारत गएका आप्रवासी कामदारको एचआइभी परीक्षण गरिने भएको छ। एचआइभी रोकथामको क्षेत्रमा काम गर्दै आएको संस्था बहुउद्देश्यीय विकास समाज डडेल्धुरा (एमपीडिएस)ले आप्रवासी कामदारहरुको एचआइभी परीक्षण गर्ने भएको हो।

बैतडीबाट रोजगारीका लागि भारत गएर फर्केका आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गरिने कार्यक्रम संयोजक लोकेन्द्र पन्तले जानकारी दिए। ग्लोबल फण्डको आर्थिक सहयोग, सेभ द चिल्ड्रेनको प्राविधिक सहयोगमा एमपीडीएसले सञ्चालन गरिरहेको एचआइभी रोकथाम कार्यक्रम अन्तर्गत उनीहरुको परीक्षण गरिने कार्यक्रम संयोजक पन्तले बताए।

जिल्लाका १० ओटै स्थानीय तहमा ३ हजार ४५० जना आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुको एचआइभी परीक्षण गर्ने लक्ष्य रहेको कार्यक्रम संयोजक पन्तले बताए। आगामी जनवरी २०२५ सम्ममा एचआइभी परीक्षणको कार्य गरिने उनले बताए।

जिल्लाको पञ्चेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र दोगडाकेदार गाउँपालिकामा घरदैलो अभियान सञ्चालन गरेर एचआइभी परीक्षणको कार्य गरिने छ भने बाँकी स्थानीय तहहरुमा मोबाइल क्याम्पको आयोजना गरेर एचआइभी परीक्षणको कार्य गरिने उनले बताए। भारतमा रोजगारीका लागि गएका आप्रवासी कामदार र उनीहरुका परिवारलाई एचआइभी, मलेरिया, क्षयरोग र कोभीडका बिषयमा जानकारी दिनुका साथै ती रोगहरुको परीक्षण गरिने बताइएको छ।

असुरक्षित यौन सम्पर्कबाट सर्ने एचआइभीका बिषयमा ज्ञान नहुँदा धेरै बिरामीहरु समाजमा लुकेर रहेका हुन सक्ने भएकाले एचआइभी संक्रमितहरुलाई उपचारको दायरामा ल्याउन एचआइभी परीक्षण गर्ने तयारी भएको बताइएको छ। बैतडीमा अहिले १ सय २६ जना एचआइभी संक्रमितहरु उपचारमा रहेका छन्। उनीहरु नियमित रुपमा एआरटी औषधी सेवन गरिरहेका बताइएको छ।

Leave A Reply

Your email address will not be published.