बैतडीको पञ्चेश्वर स्वास्थ्यचौकी कागज रहित बन्दै

बैतडी: पञ्चेश्वर स्वास्थ्यचौकी थप प्रविधियुक्त बनेको छ। दुर्गमबाट प्रभावकारी सेवा प्रदान गर्दै आएको पञ्चेश्वर स्वास्थ्यचौकी अब कागजरहित बन्ने पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले जानकारी दिए।

स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको आज बसेको बैठकले स्वास्थ्य संस्थाले सेवा प्रदान गर्दा आवश्यक पर्ने कागजपत्र अब इलेक्ट्रोनिक हुने निर्णय गरेको छ। यसका लागि स्वास्थ्य संस्थाले करीब डेढ लाखको लागतका सफ्टवेयर खरीद गरेको सार्कीले बताए।

उक्त रकम पालिकाबाट स्वीकृत गरेर वडाले भुक्तानी गर्ने समेत उनले बताए। स्वास्थ्य संस्थाका सबै तथ्यांकहरु अनलाइनमै दर्ता गरिने सार्कीले बताए।

यस्तै उपचारका लागि स्वास्थ्य संस्थामा पुग्ने बिरामीहरुले अब पर्चा काट्न नपर्ने र उनीहरुको अनलाइन दर्ता हुने सार्कीले बताए। यस्तै नियमित खोप लगाउने बालबालिका तथा गर्भवती आमाहरुले पनि खोपकार्ड बोक्नुपर्ने छैन्। उनीहरुको तथ्यांक दर्ता गरेर खोप लगाउनु अघि नै सेवाग्राहीको मोबाइलमा एसएमएस जाने सिस्टम बनाएको सार्कीले बताए।

भोलि असोज १ देखि कार्यालयले कागजरहित सेवाको शुरुवात गर्ने स्वास्थ्यचौकी प्रमुख सार्कीले बताए। सेवा शुरु गर्नु अघि आज स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका पदाधिकारी र सरोकारवालाहरुसंग छलफल समेत गरिएको सार्कीले बताए।

बालबालिकाहरुलाई खोप लगाएपछि क्यु आरसहितको इलेक्ट्रोनिक कार्ड उपलब्ध गराइने र आवश्यक परेमा जुनसुकै ठाउँमा प्रिन्ट गर्न सकिने सार्कीले बताए। यसअघि सेन्सरयुक्त सीसीटीभी क्यामेरा जडान गरेको स्वास्थ्यचौकीले अभियानबाट चन्दा संकलन गरेर ग्रामीण अल्ट्रासाउण्ड मेसिन खरीद गरेको छ।

स्वास्थ्य संस्थामा नवीनतम कामको शुरुवात गर्दै आएका स्वास्थ्यचौकी प्रमुख सार्की लगातार दुई बर्ष स्वास्थ्य कार्यालय बैतडीबाट सम्मानित भइसकेका छन्। यस्तै गत बर्ष उनी प्रदेशस्तरीय बार्षिक समीक्षा गोष्ठीमा समेत सम्मानित भएका थिए।

Leave A Reply

Your email address will not be published.