बैतडीमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ बर्षीया मनिषा घटालको मंगलबार साँझ साढे सात बजेतिर मृत्यु भएको हो।
सोमबार दिउँसो मृत शिशुलाई जन्म दिएकी घटालको अत्याधिक रक्तश्रावका कारण मंगलबार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए।
घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मृत शिशुलाई जन्म दिएकी थिइन्। त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्थामा नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ।
मनिषा सुस्त मनस्थितीकी रहेकी समेत बुझिएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए। बर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन्।
नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ। मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको भर पर्दा उनको ज्यान गएको बुझिएको छ।
ग्रामीण क्षेत्रमा अझै पनि धामीझाक्रीको भरपर्ने अन्धविश्वासले समस्या हुने गरेको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सार्कीले बताए।