नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ।
यही कात्तिक १८ गते आइतवार बिहान ११ बजेर ३७ मिनेटमा भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो। पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले जनाएको छ। नेवार समुदायले मनाउने किजापूजा पनि त्यसै दिन गर्नुपर्ने जनाइएको छ।
यस वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार भोलिदेखि शुरू हुँदैछ। भोलि धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ। यमदीपदान भने पर्सि बुधवार परेको छ। कागतिहार पनि बुधवार नै मनाउनुपर्ने समितिले जनाएको छ। आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधवार नै मनाइन्छ।
कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीवार मनाउनुपर्छ कात्तिक १६ गते शुक्रवार औँशी परेको छ। त्यस दिन भने तिहारको कुनै पर्व नपरेको समितिले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कात्तिक १७ गते शनिवार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ। यसैगरी कात्तिक २२ गते बिहीवार छठ पर्व परेको पनि समितिले जनाएको छ।