बैतडीको पाटनमा योगप्रती सर्वसाधारणको आकर्षण बढ्दो

बैतडीको पाटनमा सर्वसाधारणको योगप्रति आकर्षण बढेको छ। स्वस्थ रहन र तनाव व्यवस्थापनका लागि योग अभ्यासमा आकर्षण बढेको हो।

जिल्लाको पाटन नगरपालिकाका ८ र ९ ग्रामीण क्षेत्रमा मानिस भेला भएर सामूहिक रूपमा योग अभ्यास गरिएको पतन्जली योग साधना केन्द्र पाटनका अध्यक्ष तथा पाटन नगरपालिका नगर उपप्रमुख कमल सिह बोहराले जनाएको छ। व्यस्त जीवनमा साधारण व्यायाम गरेर आफूलाई स्वस्थ राख्न, तनावबाट मुक्त हुन र शारीरिक स्फूर्तिका लागि नियमित योग गर्ने बानीको विकास गर्ने सात दिने तालिम दिइएको उपप्रमुख बोहराले बताए।

बजार व्यवसाय गर्ने व्यपारी, शिक्षक, पत्रकार, राजनिती दलका प्रमुख तथा प्रतिनिधीहरु नियमित योगमा उपवस्थीत भइरहेको खोड्पे बजार व्यवस्थापन समिति अध्यक्ष राम बिष्टले बताए। छोटो अवधिका लागि आयोजना गरिने सामूहिक योगाभ्यासमा सहभागी भएपछि धेरैजसोले घरमै निरन्तरता दिएका छन्।

योगाभ्यासमा सहभागीलाई उत्प्रेरणा साथै योग र ध्यानको महत्त्व बुझाएर आधारभूत ज्ञान र सीप प्रदान गरिएको साप्ताहिक योग साधना प्रशिक्षण कार्यक्रमका मुख्य योग प्रशिक्षक दुर्गादत्त जोशीले बताए। ‘गलत खानपान र जीवनशैलीका कारणले शरीर भद्दा, अस्तव्यस्त र अस्वस्थ भएको छ’, उनले भने, ‘आसन, प्राणायम र उचित खानपानको माध्यमबाट स्वस्थ रहन योगले सहयोग गर्छ।’

योगले मानिसको शारीरिक बनावटलगायत मानसिक रूपमा पनि सकारात्मक प्रभाव पार्ने योग प्रशिक्षक जोशीले बताए । जीवनमा स्वस्थ र निरोगी रहन योग विधाको आविष्कार भएको बताइन्छ। व्यस्त जीवनमा हुने तनावबाट मुक्त रहन पछिल्लो समय युवादेखि वृद्धसम्मले यसलाई अपनाएको पाइन्छ। चिकित्सकका अनुसार दैनिक योगले मानिसको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

योगप्रति आकर्षण बढे पनि बजार क्षेत्रमा अभ्यास गर्ने ठाउँको अभाव छ।

Leave A Reply

Your email address will not be published.