बैतडी : मेलौली नगरपालीका–०१ देहिमा रहेको बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा हरेक वर्ष लाग्ने मेला ‘देहिजाँत’ आजबाट सुरु भएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लाग्ने मेला आजबाट सुरु भएको छ।
आज पहिलो दिन रतेडि मेला लाग्दै छ। भोली दिउसेडि मेला लाग्ने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताए। आज मन्दिरमा रागाँ बोका सहित देउराहरु आउने जनाईएको छ। आजै देवता पुजेर बोकाको बलि दिने कार्य सम्पन्न हुनेछ। भोली बिहान सुर्योदयसगैँ चलो आउने र त्यसपछि रागाँको बलि हुने मेलौली धार्मिक सेवा समितिले जनाएको छ।
भोली दिउसेडी मेलाको दिउसो मेलौली नगरपालिका–०६ पोखरी भण्डारबाट मेलौली भगवती मन्दिरमा धन पुतली देउरो आउने जनाईएको छ। दिउसेडी मेलामा दिनभरी देउडा खेल्ने र आफन्तसगं भेटघाटसगैँ मेला समापन हुने गर्दछ।
देहिजाँतको रूपमा परिचित मेला हेर्न र देबताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुग्ने गरेका छन। मेलामा ब्यापार गर्नको लागि छिमेकि राष्ट्र भारतबाट समेत ब्यापारीहरु आउने गर्दछन।
मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।
स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।
मेलाको अवसरमा मेलौली नगरपालिकाले आज र भोली स्थानीय विदा दिएको छ।