कैलाली-एचआइभी एड्स सङ्क्रमण दर धेरै घटे पनि सुदूरपश्चिम प्रदेशमा अझै अनुमानित चार हजार २६५ जना एड्स सङ्क्रमित रहेका छन् ।गत आर्थिक वर्ष २०८०–८१ सम्म सो सङ्ख्यामा एड्स सङ्क्रमित रहेको अनुमान गरेको प्रादेशिक स्वास्थ्य निर्देशनालयले जनाएको हो । अनुमानित सङ्क्रमितमध्ये चार हजार नौ जना पत्ता लागेको आज पत्रकार सम्मेलन गरी जनाइएको छ ।
पत्ता लागेका सङ्क्रमितमध्ये तीन हजार ७२३ जना उपचाररत छन् । उपचार गराइ रहेकामध्ये एक हजार ९२० जनामा रोग सार्ने भाइरल लोड कम भएको निर्देशनालयका एचआइभी स्रोत व्यक्ति मनोज ओझाले बताउनुभयो ।
उहाँका अनुसार गत आर्थिक वर्षमा पुरुष १२९, महिला ८५ र यौन अल्पसङ्ख्यक चार गरी २१८ नयाँ सङ्क्रमित पत्ता लागेका छन् ।नयाँ पत्ता लागेकामध्ये २१४ जना उपचारमा दर्ता भएको जनाइएको छ । नयाँ पत्ता लागेको सङ्ख्या अघिल्लो आर्थिक वर्षकोभन्दा कम रहेको निर्देशनालयले जानकारी दिएको छ । गत आर्थिक वर्षमा सुदूरपश्चिमका ६४ सङ्क्रमितले एड्सका कारण ज्यान गुमाएका छन् ।
निर्देशनालयका अनुसार बाजुराका ६२, बझाङका ९१, दार्चुलाका ४५, बैतडीका १२८, डडेलधुराका ११५, डोटीका ४९३ सङ्क्रमितले हाल उपचार गराइरहेका छन् । यसैगरी, अछामका ५८४, कैलालीका एक हजार ७४५ र कञ्चनपुरका ४६० जना सङ्क्रमित एआरटी उपचार गराइरहेका छन् । यो प्रदेशमा १७ स्थानबाट एआरटी उपचार सेवा उपलब्ध रहेको छ ।
यस प्रदेशमा पछिल्लो दुई तीन वर्षयता नयाँ एचआइभी सङ्क्रमित थपिने सङ्ख्यास्थिर रहेको निर्देशनालयले जानकारी दिएको छ । फेला परेका सङ्क्रमितलाई नियमित उपचारमा ल्याएका र एआरटी सेवाका कारण सङ्क्रमण दर घटेको ओझाले बताउनुभयो । अहिले एआरटी औषधी धेरै राम्रो आएको उल्लेख गर्दै नियमित एआरटी खाएमा सङ्क्रमितबाट एचआइभी सर्ने दर (भाइरल लोड)९० प्रतिशत कम हुने गरेको बताइएको छ ।
दिगो विकास लक्ष्यअनुसार नेपालमा सन् २०३० सम्म एचआइभी सङ्क्रमणको महामारी दर शून्यमा झार्ने लक्ष्य लिइएको छ । यो लक्ष्य महत्वकांक्षीजस्तो लागे पनि असम्भव नरहेको स्वास्थ्य निर्देशक खगेन्द्र बमले बताउनुभयो । सबैको सहयोगमा लक्ष्यलाई पूरा गर्न सकिने उहाँको भनाइ थियो ।
स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले एड्स पनि मधुमेहजस्तै सामान्य रोग रहेको बताउनुभयो ।नियमित उपचार गराउने सङ्क्रमितहरू सामान्य जीवन बाँच्ने गरेको उहाँले उल्लेख गर्नुभयो ।