बैतडीको खोड्पेमा कृषि उपजहरुको बजारीकरणको अवस्थाका बारेमा सरोकारवालाहरु संग छलफल गरिएको छ। साडा नेपाल बैतडीको आयोजनामा शनिबार कृषकहरुले उत्पादन गरेका कृषि उपजहरुलाई बजारीकरणको अवस्थाका बिषयमा उनीहरुसंग छलफल गरिएको हो ।
तरकारी लगायतका अन्य कृषि उपजहरुलाई बजार संग जोड्न कृषक, व्यापारीहरुसंगै जनप्रतिनिधीहरुसंग छलफल गरिएको साडा नेपाल बैतडीका कार्यक्रम संयोजक भुपाल बोहराले जानकारी दिए। किसानहरुको उत्पादन बजार नपाउँदा समस्या भोग्दै आएकाले कृषक र स्थानीय ब्यापारीहरुलाई आपसमा जोड्न अन्तरक्रिया गरिएको बोहराले बताए।
सडकको पहुँच नहुँदा उत्पादीत तरकारी लगायतका कृषि उपजले सोचेअनुरुप बजार नपाउने गरेको छलफलमा सहभागी अधिकांशको गुनासो थियो। सबैभन्दा पहिले सहजै बजारको पहुँच नभएको र बजार सम्म उत्पादीत बस्तुलाई पु¥याएपनि मेहनतअनुसारको मूल्य पाउन मुस्किल हुने गरेको सुर्नया गाउँपालिका –८ गुफा केदार महिला उद्यमी समूहका सदस्य हजारी महराले बताइन्।
महिलाहरुलाई आयआर्जनका कार्यक्रममा जोड्न साडा नेपालले सुर्नया र सिगास गाउँपालिकामा कार्यक्रम गर्दै आएको छ। फलफूल तरकारी लगायतका कृषि उपजहरुको संकलनका लागि संकलन केन्द्र नहुँदा पनि समस्या भोग्दै आएको छलफलमा सहभागीहरुको गुनासो थियो।
साडा नेपालले सुर्नया र सिगासमा जिविकोपार्जनको क्षेत्रमा २० ओटा महिला उद्यमी समूह गठन गरेको छ। ति मध्ये १० समूहको स्थानीय कृषि तथा पशुजन्य बस्तुको बजारीकरणका लागि स्थानीय ब्यापारी तथा सहकारी संग त्रिपक्षीय सम्झौता गरिएको साडा नेपाल बैतडीका कृषि प्राविधिक दिपेश सिंह धामीले बताए। सम्झौतापछि किसानहरुले ब्यापारीमार्फत सहजै तरिकाले उत्पादीत बस्तुको बजारीकरण गर्दै आएको कृषि प्राविधिक धामीले जानकारी दिनुभयो। पहिलेको तुलनामा पछिल्ला समयमा बजारको समस्या नरहेको ब्यापारी हरिश भट्टले बताए।
छलफल कार्यक्रम सिगास गाउँपालिका १ का वडाअध्यक्ष रामचन्द्र ऐर लगायत स्थानीय ब्यापारीसहित महिला उद्यमी सहकारीका प्रतिनिधीहरुको सहभागीता रहेको थियो।