बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा आज बिहानै गएको भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ।
वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिनुभयो। भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उहाँको भनाइ छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकोबारे जानकारी नआएको बताउनुभयो।
जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको थियो।