पश्चिम नेपालबाट मौसममा बदली शुरू भएको छ। हिजो बेलुकादेखि सुदूरपश्चिम प्रदेशमा बदली भएकामा विस्तारै अन्यत्र फैलिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज रातिसम्म कर्णाली प्रदेशमा पनि बदली हुने विस्तारै गण्डकी र लुम्बिनीसम्म आउने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो। माथि सर्दै जाँदा प्रणाली केही कमजोर भए पनि असर भने सबैतिर देखिने उहाँले बताउनुभयो।
भोलिदेखी प्रणाली केही कमजोर हुँदै जाने लामिछानेले बताउनुभयो। उहाँका अनुसार अहिले वर्षा भने भइसकेको छैन। राति र बिहान उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही क्षेत्रमा सामान्य वर्षा हुनसक्ने सम्भावना रहेको उहाँले जानकारी दिनुभयो।
महाशाखाका अनुसार अहिले रहेको पश्चिमी वायुको प्रभाव सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा पर्नेछ। मौसममा बदली भएसँगै पुनःचिसो बढ्न पश्चिम नेपालबाट शुरू भएको छ।
गएको मङ्सिर अन्तिम हप्ता नेपालमा चिसो अत्यधिक बढेर विस्तारै घटेकोमा हिजोदेखि पुनः चिसो बढ्न थालेको महाशाखाका मौसमविद् लामिछानेले उल्लेख गर्नुभयो।