बैतडीमा बजार अनुगमन :६ पसलबाट म्याद गुज्रेका सामान बरामद
संयुक्त बजार अनुगमन समितिले बैतडीको मेलौलीमा बजार अनुगमन गरेको छ ।
बैतडी-संयुक्त बजार अनुगमन समितिले बैतडीको मेलौलींमा बजार अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, नेपाल प्रहरी र स्थानीय जनप्रतिनिधिहरुको सहभागितामा विहिबार बजार अनुगमन गरिएको हो ।
बजार अनुगमनका क्रममा मेलौलीमा २१ ओटा पसल अनुगमन गर्दा ६ ओटा पसलबाट म्याद गुज्रेका सामग्री बरामद गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले जानकारी दिनुभयो ।
ती पसलहरुबाट १५ हजार ४ सय ३५ रुपैयाँ बराबरको म्याद नाघेको सामग्री बरामद गरी सबैको रहोबरमा नष्ट गरिएको कठायतले बताउनुभयो ।
बजार अनुगमनका क्रममा व्यापारीहरुलाई म्याद नाघेका सामग्री विक्रिवितरण नगर्न आग्रह गरिएको कठायतले बताउनुभयो । पहिलाको तुलनामा बजारमा केही सुधार आएको भएपनि पूर्ण रुपमा सुधार हुन बाँकी रहेको उनले बताउनुभयो ।
बजार अनुगमनलाई स्थानीय तहहरुले समेत निरन्तरता दिनुपर्नेमा कठायतले जोड दिनुभयो । यसका साथै उपभोक्ताहरुले समेत सचेत हुनुपर्ने उनले बताउनुभयो ।