बैतडी– बैतडीका सार्वजनिक स्थानमा धूम्रपान गर्न रोक लगाइएको छ। सार्वजनिक स्थानमा धुम्रपानगर्नेलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थ सेवन र विक्री वितरण नगर्न पनि जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको हो।
स्थानीय प्रशासनले एक सूचना जारी गर्दै सार्वजनिक स्थलमा धुम्रपान तथा सूर्तीजन्य पदार्थको विक्रि वितरण तथा सेवन गरेमा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमन ऐन २०६८ अनुसार कारवाही हुने उल्लेख गरिएको छ ।
उक्त ऐनले सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक सवारी साधन, विमानस्थल, सार्वजनिक शौचालय, रंगशाला, धार्मिक स्थल, पार्क, प्रतिक्षालय लगायतका सार्वजनिक स्थलमा धुम्रपान र सूर्तीजन्य पदार्थको विक्रि वितरण र सेवनमा रोक लगाएको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताउनुभयो ।
यस्तै स्वास्थ्य संस्था, शिक्षण संस्था, बालकल्याण गृह, शिशु स्याहार केन्द्र लगायतका सार्वजनिक स्थलबाट कम्तीमा एक सयमिटर भित्र रहेका पसलबाट त्यस्ता पदार्थहरुको विक्रि वितरण गर्न नहुने उल्लेख गरिएको छ । यसो गरिएको पाइएमा कानुन अनुसार कारवाही हुने प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताउनुभयो ।
यस्तै १८ बर्ष पूरा नभएका व्यक्ति र गर्भवती महिलाहरुलाई सूर्तीजन्य पदार्थ तथा धुम्रपान विक्रि गर्न नहुने कुरा ऐनमा उल्लेख गरिएको छ । ऐनको उक्त दफालाई पूर्ण रुपमा कार्यान्वयन गर्न स्थानीय प्रशासनले आग्रह गरेको छ ।
