अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौं सङ्घीय कर्मचारीलाई राजीनामा दिन आठ महिनाको तलब प्रस्ताव गरेको छ। राष्ट्रपति ट्रम्पको प्रशासनले कार्यालयमा फर्कन नचाहने लगभग सबै सङ्घीय कर्मचारीहरूलाई बहिर्गमन प्याकेजको प्रस्ताव गरेको बीबीसीले जनाएको छ ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पका सल्लाहकार अर्बपति व्यापारी एलन मस्कले सामाजिक सञ्जाल ‘एक्स’ ऐतिहासिक ‘विकल्प’ का रूपमा प्रशंसा गरेको यो प्रस्ताव सबै २० लाख जना सङ्घीय कर्मचारीलाई पठाइएको छ । यही जनवरी २० मा ट्रम्पले पदभार ग्रहण गरेयता सङ्घीय खर्चविरुद्ध यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो ।
प्रशासनका एक वरिष्ठ अधिकारीले एनबीसी न्यूजलाई बताएअनुसार यो प्याकेजबाट ५ देखि १० प्रतिशत सङ्घीय कर्मचारीले राजीनामा दिने अपेक्षा छ । यसबाट झन्डै एक खर्ब अमेरिकी डलर बचत हुने विश्वास छ ।
ट्रम्पले प्रशासनले कर्मचारीको इमेलमा राजीनामाका लागि पठाएको प्रस्ताव आउँदो फेब्रुअरी ६ तारिखसम्म लागू हुनेछ । ट्रम्पले कोभिड–१९ महामारीपछि धेरै वर्षसम्म घरबाट काम गर्ने सुविधापछि सबै सङ्घीय कर्मचारीलाई पूर्णकालिक रूपमा कार्यालयमा फर्कन आदेश दिएसँगै ट्रम्पले यो कदम चाल्नुभएको हो ।