बैतडीको मेलौली नगरपालिकाको आर्थिक वर्ष २०८३/०८४ को पहिलो नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगरसभामा आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम एवम् बजेट प्रस्तुत गरिएको हो।
नगर प्रमुख भिम बहादुर चन्दले नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने नगरपालिकाले कुल १९ करोड ८७ लाख १ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव पेश गरेको छ। प्रस्तुत नीति तथा कार्यक्रममा आर्थिक विकास, सामाजिक रूपान्तरण, कृषि तथा पशुपालन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक तथा अन्य भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखिएको छ।
नगर प्रमुख चन्दले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम कार्यान्वयनबाट नगरबासीको आर्थिक तथा सामाजिक अवस्थामा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो। उहाँले वातावरण संरक्षण तथा जलवायु अनुकूल विकासका कार्यक्रमलाई समेत विशेष महत्व दिइएको बताउनुभयो।
नगरपालिकाले राजस्व संकलनमा वृद्धि गर्दै आन्तरिक स्रोत सबलीकरण गर्ने, सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने तथा सुशासन कायम गर्न विभिन्न सुधारात्मक कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको जनाएको छ। साथै नगरभित्रका सडक, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन क्षेत्रको विकासमार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने नीति समेत अवलम्बन गरिएको छ।
नगरपालिकाले प्रस्तुत गरेको बजेट तथा नीति कार्यक्रमले समग्र नगरको विकास, समृद्धि र नागरिकको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। नगरसभामा प्रस्तुत बजेटमाथि छलफल गरी आवश्यक सुझाव संकलन गरिने तथा आगामी दिनमा योजनाबद्ध रूपमा कार्यान्वयन गरिने जनाइएको छ।