बैतडीको शिवनाथमा सामुदायिक मेलमिलापकर्ताहरूका लागि सञ्चालन गरिएको तीनदिने पुनर्ताजगी तालिम सम्पन्न भएको छ। गाउँपालिकाको कार्यालयमा जेठ १६ गतेदेखि सञ्चालन भएको तालिम आज एक कार्यक्रमका बीच समापन गरिएको हो।
गाउँपालिकाको न्यायिक समितिद्वारा वडास्तरमा गठन गरिएका सामुदायिक मेलमिलापकर्ताहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको गाउँपालिकाका अभिलेख प्रशासक राजबहादुर चन्दले जानकारी दिनुभयो। स्थानीय तहमा उत्पन्न हुने विभिन्न किसिमका विवादलाई समुदायमै मेलमिलापका माध्यमबाट समाधान गर्न सक्ने दक्ष जनशक्ति तयार गर्ने लक्ष्यका साथ तालिम आयोजना गरिएकाे चन्दले बताउनुभयो।
तालिममा गाउँपालिकाभरिका २८ जना मेलमिलापकर्ताहरूको सहभागिता रहेको थियो। तालिमका क्रममा मेलमिलाप प्रक्रिया, कानुनी व्यवस्था, विवाद व्यवस्थापनका सीप, संवाद तथा सहजीकरणका विधि, न्यायिक समितिको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको थियो।
तालिमका प्रशिक्षक तथा कानुनी सल्लाहकार अधिवक्ता दिपेन्द्रबहादुर चन्दले व्यवहारिक अभ्याससहित प्रशिक्षण सञ्चालन गर्नुभएको थियो। स्थानीय स्तरमा साना तथा सामान्य प्रकृतिका विवादलाई अदालतसम्म पुग्न नदिई समुदायमै सहमतिका आधारमा समाधान गर्न मेलमिलापकर्ताहरूको भूमिका महत्वपूर्ण हुने बताउनुभयो।
समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले मेलमिलाप संस्कृतिले समाजमा सद्भाव, एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउने उल्लेख गर्दै तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारमा उतार्न सहभागीहरूलाई आग्रह गर्नुभयो। उहाँले न्यायमा नागरिकको सहज पहुँच सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको समेत बताउनुभयो।
न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष सकुन्तला साउँदको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताहरूले तालिमले मेलमिलापकर्ताहरूको कार्यसम्पादन क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा छिटो, सहज र कम खर्चिलो न्याय प्रवाहमा टेवा पुग्ने विश्वास व्यक्त गरेका थिए। गाउँपालिकाले आगामी दिनमा पनि न्यायिक समितिको प्रभावकारिता बढाउन तथा समुदायस्तरमा शान्तिपूर्ण विवाद समाधानको वातावरण निर्माण गर्न यस्ता क्षमता विकाससम्बन्धी कार्यक्रमलाई निरन्तरता दिने न्यायिक समिति संयाेजक तथा गाउँपालिका उपाध्यक्ष साउँदले बताउनुभयो।