बैतडी-चार दिन लगातार सार्वजनिक बिदापछि सोमबार इलाका प्रशासन कार्यालय मेलौलीमा सेवाग्राहीको उल्लेख्य घुइँचो लागेको छ।
नागरिकता, राष्ट्रिय परिचयपत्र तथा अन्य प्रशासनिक सेवा लिन बिहानैदेखि सेवाग्राही कार्यालयमा पुगेका थिए। कार्यालय प्रमुख महेश भट्टका अनुसार लगातार बिदा परेकाले सोमबार सेवाग्राहीको चाप बढेको हो। उनका अनुसार कार्यालय स्थापना भएयता दैनिक रूपमा पनि सेवाग्राहीको उल्लेख्य उपस्थिति रहने गरेको छ।
गत वैशाख २४ गते स्थापना भएको उक्त कार्यालयबाट हालसम्म ४३७ जनालाई नागरिकता सिफारिस, ८७ प्रतिलिपि नागरिगता दिइएको छ भने ३६६ जनालाई नागरिकता वितरण गरिएको छ। त्यसैगरी ३४६ जनाको राष्ट्रिय परिचयपत्रको विवरण दर्ता गरिएको र १२ जनालाई राष्ट्रिय परिचयपत्र कार्ड वितरण गरिएको कार्यालयले जनाएको छ। तथ्याङ्कअनुसार हालसम्म सबैभन्दा बढी शिवनाथ गाउँपालिकाका १८४ जनाले सेवा लिएका छन्। त्यसपछि मेलौली नगरपालिकाका १६२ जना र पञ्चेश्वर गाउँपालिकाका ९१ जनाले कार्यालयबाट सेवा प्राप्त गरेका छन्।
सेवाग्राहीहरूले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। यसअघि सामान्य प्रशासनिक कामका लागि समेत जिल्ला सदरमुकाम गोठलापानी पुग्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ। सदरमुकामसम्म पुग्न लामो यात्रा गर्नुपर्ने, यातायात तथा बसोबासमा अतिरिक्त खर्च हुने, कतिपय अवस्थामा कागजात नमिल्दा पुनः आउजाउ गर्नुपर्ने समस्याले समय र आर्थिक भार दुवै बढाउने गरेको उनीहरूले बताए।
“पहिला एउटा नागरिकता वा अन्य प्रशासनिक कामका लागि जिल्ला सदरमुकाम धाउनुपर्थ्यो। समय धेरै लाग्थ्यो, खर्च पनि धेरै हुन्थ्यो। कहिलेकाहीँ कागजात नमिल्दा फेरि आउनुपर्थ्यो। अहिले मेलौलीमै सेवा पाउन थालेपछि काम निकै सहज भएको छ,” एक सेवाग्राहीले भने।

स्थानीयका अनुसार इलाका प्रशासन कार्यालय सञ्चालनमा आएपछि समयको बचत हुनुका साथै आर्थिक भारसमेत कम भएको छ। सेवा आफ्नै क्षेत्रबाट प्राप्त हुन थालेपछि नागरिकहरूमा समेत उत्साह थपिएको छ। स्थानीय तह नजिकै प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको इलाका प्रशासन कार्यालय मेलौलीले छोटो अवधिमै उल्लेख्य सङ्ख्यामा नागरिकलाई सेवा प्रदान गर्दै आएको छ।